Comments Add Comment

‘युद्धकी नायिका’ बन्लिन् त अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार ?

२० साउन, काठमाडौं । कोरोना भाइरसले आक्रान्त अमेरिकामा अहिले नोभेम्बरमा आम निर्वाचन होला कि नहोला ? राष्ट्रपतिमा डोनाल्ड ट्रम्प र जोसेफ आर बिडेन जुनियर भिड्ने पक्का जस्तै छ । तर डेमोक्रेट र रिपब्लिकनबाट उपराष्ट्रपतिको उम्मेदवार को बन्ने टुंगिएको छैन ।

इलिनोय राज्यकी सिनेटर टेमी डकवर्थलाई पनि उपराष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिने गरिएको छ ।

बैंककमा जन्मिएकी र इराक युद्धमा घाइते भएकी डेकवर्थ एक संवेदनशील र जुझारु व्यक्तिको परिचय बनाउन सफल महिला हुन् । उपराष्ट्रपतिको उम्मेदवारका रुपमा हेरिएसँगै उनी विपक्षीको समर्थकको आँखाको तारो पनि बनिसकेकी छिन् ।

राजनीतिक क्षमताको तारिफ

हालै मात्र सीएनएनमा अमेरिकाका संस्थापक र दासहरुको समाधी हटाउने विषयमा खुला रहेको धारणा राखेपछि उनको देशभक्तिमाथि विपक्षी कार्यकर्ताले प्रश्न उठाएका छन् र त्यसको जवाफमा उनले विपक्षीहरुलाई आफ्नो खुट्टाले एक माइल यात्रा गरेर आफूमा देशभक्ति छ वा छैन भन्ने थाहा पाउन चुनौती दिएकी थिइन् ।

यस किसिमिको विवादले उनलाई चर्चामा ल्यायो र उनको परिपक्व राजनीतिक ज्ञानलाई पनि उजागर गर्‍यो । धेरै डेमोक्रेट्सहरु सैन्य अनुभव र ज्ञानले उनलाई थप शक्ति प्रदान गरेको बताउँछन् । उनी एसियाली–अमेरिकी हुन् र उनको पृष्ठभूमिले राष्ट्रपतिको उम्मेदवार जो बिडेनलाई पनि सहयोग पुग्ने उनीहरुको भनाइ छ ।

डकवर्थका समर्थकहरु उनी उपराष्ट्रपतिको उम्मेदवार बनेको खण्डमा उनलाई पूर्व सैनिक, अल्पसंख्यक र महिलाको भोट प्राप्त गर्न सजिलो हुने बताउँछन् ।

दोस्रो फ्याक्टर

यद्यपि धेरै मानिसहरु डकवर्थको सट्टामा अश्वेत नागरिकबाट एकजनालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने विचार राख्छन् । यसका लागि सिनेटर कमला ह्यारिसलाई सम्भावितमा उम्मेदवारका रुपमा हेरिएको छ ।

डेमोक्रेटिकबाट टिकटको दाबेदारी राख्नेमा न्यू मेक्सिकोका गभर्नर मिशेल लुजान ग्रिशम पनि छिन् । उनले राष्ट्रपतिका उम्मेदवार बिडेनलाई धेरै राज्यमा सहयोग पुर्‍याउन सक्छिन् ।

उपराष्ट्रपतिको निर्वाचन बिडेनका लागि पनि निकै महत्वपूर्ण छ । उनको उमेरको कारण पनि उपराष्ट्रपतिको भूमिका उनको लागि महत्वपूर्ण बन्नसक्छ । बिडेन ७७ वर्ष पुगिसकेका छन् । यस्तो अवस्था उनी निर्वाचित भएको खण्डमा पनि पहिलो कार्यकाल सक्दा उनी ८२ वर्षको हुनेछन् । यो उमेरमा सायद उनले उनले दोस्रो कार्यकाल दाबी गर्ने छैनन् ।

यस्तो अवस्थामा उनको कार्यकालमा उपराष्ट्रपति बन्ने व्यक्ति दोस्रो कार्यकालमा राष्ट्रपतिको उम्मेदवार बन्न सक्छन् ।

पूर्वसैनिकको लागि गरेको कामबाट चर्चित

डकवर्थ अहिले ५२ वर्षकी भइन् । उनी पूर्व सैनिकहरुको लागि गरेको कामबाट चर्चित छिन् । यसका साथै उनले स्वास्थ्य स्याहार नीतिको विषयमा पनि काम गरेकी छिन् । उनी राष्ट्रिय सुरक्षाको मामिलामा पनि धेरैजसो आफ्नो विचार व्यक्त गर्ने गर्छिन् । उनी इराक युद्धमा पनि सहभागी भएकी थिइन् । तर, उनी यो युद्ध गर्नु एक गल्ती भएको बताउँछिन् । उनी भन्छिन्, ‘यो निकै कठिन पाठ हो । मलाई आशा छ कि यो अमेरिकाले भविष्यमा युद्धमा जानुभन्दा पहिला धेरै सोचेर निर्णय गर्नेछ ।’

पारिवारिक पृष्ठभूमि

उनका निजी कहानी निकै रोचक छ । उनी र उनका पतिका दुई छोरी छन् । उनका पिता एक अमेरिकी नागरिक थिए । उनी यूएनमा काम गर्थे । उनकी आमा थाइल्याण्डकी हुन् । डकवर्थ पनि थाई भाषा बोल्न सक्छिन् । उनी आफ्नो आमाबुबासँग सिंगापुर, इन्डोनेसिया र कम्बोडियामा पनि बसेकी थिइन् ।

सन् १९७० को दशकको मध्यमा खमेर रुज सत्तामा आएपछि शुरु भएको हिंसाको क्रममा उनी आफ्ना परिवारको साथमा कम्बोडियाको नाम पेन्हमा बसिरहेकी थिइन् । पछि उनी आफ्ना पिताको पाइला पछ्याउँदै सेनामा सामेल भइन् । उनी आफूमा राष्ट्रपति बन्ने अभिलाषा नरहेको बताउँछिन् । तर, उनी बिडेनको कट्टर समर्थक हुन् ।

बिडेनले गर्छन् तारिफ

एक अनलाइन फण्डरेजर (पैसा जुटाउने अभियान)मा बिडेनले डकवर्थको युद्ध र उनले राजनीतिमा देखाएको वीरताको तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मैले यति साहस देखाउने दोस्रो व्यक्ति देखेको छैन ।’ उनले यो अभियानमा आफूलाई साथ दिएको भन्दै डकवर्थलाई धन्यवाद दिएका थिए ।

वैचारिक रुपमा पनि डकवर्थले मध्यमार्गी बाटो अपनाउने गरेकी छिन् । जसको कारण बिडेनका लागि डकवर्थ एक सही व्यक्ति हुन् । डेमेक्रेट्सको पनि विभिन्न विचारधारामा उनले सधैं मध्यमार्गी बाटो रोज्ने गरेकी छिन् ।

हालै मात्र उनले राष्ट्रपनि डोनाल्ड ट्रम्पको मुलुकलाई नेतृत्व दिन असफल भएको भन्दै आलोचना गरेकी थियन् । बिडेनका सहयोगीले उपराष्ट्रपति पदको उम्मेदवारको लागि डकवर्थको अन्तर्वार्ता लिएका थिए । उनीहरुले यो अन्तर्वार्ता सकारात्मक रहेको बताएका छन् ।

को बन्न सक्छन् उम्मेदवार ?

राष्ट्रपति पदको लागि उम्मेदवार बनेका बिडेनले आफूले एक महिलालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने घोषणा गरिसकेका छन् । अहिलेसम्म हल्ला चलेका सम्भावित उम्मेदवार यस्ता छन् –

– क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिस

– पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार सुजेन राइस

– मिशिगनकी गभर्नर ग्रेटचेन ह्वाइटमर

– इनिनोयकी सिनेटर टेमी डकवर्थ

– मासाचुएट्सकी सिनेटर एलिजाबेथ वारेन

– विसकोन्सिनकी सिनेटर टेमी बाल्डिविन

– एरिजोनाकी सिनेटर किस्र्टीन सिनेमा

राजनीतिक यात्रा

सेनाबाट अवकाश पाएपछि डकवर्थले पूर्व सैन्यकर्मीका लागि काम गरेकी थिइन् । सन् २०१२ मा उनी कांग्रेसका लागि चुनिएकी थिइन् । सन् २०१६ मा उनले सिनेट सिट जितेकी थिइन् र राज्यको जुनियर सिनेटर बनेकी थिइन् । राज्यको राजनीतिबाट उनले निकै छिटो राष्ट्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यसो त सोही राज्यबाट बाराक ओबामाले पनि राजनीति शुरु गरेर राष्ट्रपति बनेका थिए । तर, उनलाई अलि धेरै समय लागेको थियो ।

यद्यपि उनको राजनीतिक यात्रा पूर्णरुपले स्वच्छ भने छैन । उनलाई कांग्रसमा कानुन पास गराउन संघर्ष गर्नुपरेको छ भने पूर्व सैनिकको लागि उनले गर्ने कामको पनि आलोचना हुने गरेको छ । उनका आलोचकका अनुसार उनी सधैं सही कुरा गर्छिन् तर उनले वेटरन प्रोग्राम्सको बारेमा गर्ने गरेको कुरा भने वास्तविकताभन्दा निकै पर रहने गरेको छ ।

आलोचकलाई बेवास्ता

यद्यपि आलोचनाले डकवर्थलाई कुनै असर भने पारेको छैन । आफ्नो समगै करियरमा उनले असाधारण आत्मविश्वास देखाएकी छिन् । युद्धमा आफ्नो खुट्टा गुमाएको पीडा र त्यसपछिको अवस्थालाई पनि आफ्नो साहसका लागि झेलेकी छिन् । उनी भन्छिन्, ‘मेरो लागि सबैभन्दा ठूलो कुरा म जीवित बच्नु हो ।’

उनका समर्थकहरुका अनुसार बिडेनले आफ्नो अभियानमा जोश थप्नका लागि पनि डकवर्थलाई छनोट गर्नसक्ने बताउँछन् । यो साता बिडेनले आफ्नो निर्णय लिन सक्छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment