Comments Add Comment
गण्डकीमा कोरोना दोस्रो चरणमा :

लकडाउन गर्ने अवस्था छैन, सावधानी अपनाऔं : मुख्यमन्त्री गुरुङ

२१ साउन, पोखरा । गण्डकी प्रदेशमा लकडाउन खुलेपछि मात्रै करिब २ सय जना कोरोना संक्रमित थपिएका छन् । १३ दिनको अवधिमा थपिएको यो संख्या लकडाउनअघिको परिस्थितिमा भन्दा धेरै हो ।

गण्डकी प्रदेशमा अहिलेसम्म २५ हजार २ सय ९२ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये साउन सात गते लकडाउन खुल्नुभन्दा अघिसम्म गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ४५ थियो । अहिले यो संख्या १ हजार ५ सय ५२ पुगेको छ । त्यसमा पनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएका र स्रोत फेला नपरेका संक्रमित बढिरहेका छन् ।

स्याङ्जामा ४१ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो । प्रहरी हिरासतबाट थुनामुक्त भएका व्यक्तिको परीक्षण नगरी छाडिदिँदा पुतलीबजारमा मंगलबार कोरोना अरु समुदायका व्यक्तिमा पनि फैलियो ।

प्रहरी कर्मचारीलाई कोराना संक्रमण देखिइसकेपछि थुनामुक्त भएका १ जना व्यक्तिको सम्पर्कमा आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भयो । थुनामुक्त भएका व्यक्तिका परिवारमा ४ जना र उनका साथी ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

वालिङमा सोमबारमात्र स्वास्थ्य संंस्थामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भयो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्- प्रोटोकलअनुसार परीक्षण बढाइरहेका छौं । सबैजना सचेत रहने हो । अब कुनै पनि हालतमा अब लकडाउन गर्ने भन्ने कुरा आउँदैन

तनहुँमा आइतबारमात्र एक गाउँपालिका अधिकृतलाई नै कोरोना देखियो । पर्वत जिल्ला अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखियो ।

पछिल्लो समय कोरोना संक्रमणको दरमात्रै बढिरहेको छैन, ट्राभल हिस्ट्री तथा स्रोत नै नभेटिएका संक्रमितको संख्या पनि बढिरहेको छ । स्याङ्जामा मात्र समुदायका ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कुल संक्रमित संख्याको ८ प्रतिशतभन्दा बढी ट्राभल हिस्ट्री तथा स्रोत फेला नपरेका छन् । जिल्लाका क्वारेन्टाइनहरु बिस्तारै खाली हुँदै गइरहेका छन् । अहिले गण्डकी प्रदेशका क्वारेन्टिनमा १ हजार १६ जनामात्र छन् । गण्डकी प्रदेशभित्र १ सय ९१ जना आइसोलेसनमा छन् ।

लकडाउन खुलेर बिस्तारै बजारमा चहलपहल बढिरहेका बेला देशभर नै संक्रमितको दर बढिरहेको छ । संक्रमितको दर बजेसँगै कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अझै जनस्तरमा कोरोना फैलिने हो कि भन्ने डर सर्वसाधारणमा छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले कोरोना संक्रमण समुदायस्तरमा नफैलिएको बताउँदै बरु दोस्रो चरणमा प्रवेश गरेको बताउँछन् । स्याङ्जामा बढी र अन्य सबैजसो जिल्लामा ट्राभल हिस्ट्री नभएका संक्रमित समुदायस्तरमा छिटफुट रहेको उनको भनाइ थियो । ‘ट्राभल हिस्ट्री र स्रोत नभेटिएका संक्रमित बढ्नु दोस्रो चरणमा प्रवेश गरेको मान्न सकिन्छ तर समुदायस्तरमा फैलिएको नभनौं,’ निर्देशक शर्माले भने, ‘समुदायस्तरमा छिरेपछि कहाँ कतिबेला देखिन्छ पत्तो हुन्न । अहिले कन्ट्याक्ट ट्रेसिङबाट समुदायस्तरमा संक्रमित देखिएका हुन् ।’

संक्रमितको संख्या बढिरहेका बेला सरकारले फेरि कुनै पनि बेला लकडाउन गर्न सक्ने अड्कल भइरहेका छन् । सरकारले परीक्षणको दर नबढाएका कारण समुदायस्तरमा अरु फैलिएको भए पनि बाहिर आउन नसकेको पनि आवाज उठिरहेको छ ।

पछाडि फर्कन सक्ने अवस्था छैन : मुख्यमन्त्री

यस्तो अवस्थामा गण्डकी प्रदेश सरकारले के योजना बनाइरहेको छ त ? के फेरि लकडाउन हुन्छ कि कोरोना रोकथाम तथा नियन्त्रणको अर्को उपाय अपनाउँदै छ त ? मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भन्छन्, ‘प्रोटोकलअनुसार परीक्षण बढाइरहेका छौं । सबैजना सचेत रहने हो । अब कुनै पनि हालतमा अब लकडाउन गर्ने भन्ने कुरा आउँदैन ।’

मुख्यमन्त्री गुरुङले फेरि लकडाउनमै फर्कने कुरा प्रदेश सरकारले नसोचेको बताए । भीडभाड हुने ठाउँ, तरकारी मण्डी, सैलुन, फ्रेस हाउस, फोहोर उठाउने, सार्वजनिक सेवा लगायत विभिन्न कोरोना संक्रमणको जोखिम समूहमा परीक्षण बढाइएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।

‘जहाँ कोरोना संक्रमण देखिएको छ । कन्ट्याक ट्रेसिङ गरेर २४ घण्टाभित्रै परीक्षण गरिरहेका छौं,’ मुख्यमन्त्री गुरुङले भने, ‘अटो पीसीआर मेसिन थपेर अहिलेको परीक्षण दरलाई पनि बढाउन सक्छौं । त्यसैले अब पछाडि फर्कने सोचमा छैनौं ।’

मुख्यमन्त्री गुरुङले अब पनि लकडाउन गरेर पछाडि फर्कनु पर्ने स्थिति बन्यो भने धेरै तहस–नहस हुने बताए । भइरहेको काम र व्यवस्थापनलाई अझै कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर लाग्ने तर लकडाउनमा फर्कने अवस्था आउन दिन नहुने उनको भनाइ छ ।

‘क्वारेन्टिनहरु खाली भइसके बिस्तारै । कुल संक्रमित संख्याको पछि पछि कोरोनालाई जितेर निको भएर फर्कनेको राम्रो संख्या छ हाम्रो प्रदेशमा,’ मुख्यमन्त्री गुरुङले भने, ‘थोरै असाबधानीका कारणले अलिकति समस्या देखिएको स्याङ्जामा हो ।’

गण्डकी प्रदेशमा त्रासमा बस्नुपर्ने स्थिति नभएको बरु बैंक जाँदा, बजारमा जाँदा अलि बढी जनताले नै साबधानी अपनाइदिन मुख्यमन्त्रीले आग्रह गरे । ‘अनिवार्य मास्क लगाउने, ग्लोब्स र सेनिटाइजर लगाउने, भीडभाड नगर्ने, सामाजिक तथा भौतिक दूरी कायम गर्ने, खानपानमा ख्याल पु¥याउने हो भने आत्तिनु पर्दैन,’ मुख्यमन्त्री गुरुङले भने ।

भर्खर विकास निर्माण, उद्योग, कलकारखाना, व्यवसाय खुल्न थालेका बेला फेरि लकडाउनमा जाने हो अर्थतन्त्र नै तहसनहस हुने मुख्यमन्त्रीको भनाइ थियो । ‘व्यवसायका काम गरौं, उत्पादनका क्षेत्रमा लागौं तर भद्रगोल गरेर होइन, मापदण्ड ख्याल गरौं, साबधानी अपनाऔं,’ मुख्यमन्त्री गुरुङले भने, ‘लकडाउन खुल्यो भन्नुको मतलब जोखिम छैन भनेको होइन, जोखिम छ तर सचेत हुनुप¥यो । उठ्छ कि भनेको अर्थतन्त्र झन् बिगार्ने कामचाहिँ गर्नु हुँदैन ।’

२५ सयदेखि ३० हजारसम्म परीक्षणको लागि ल्याइएको स्वाब होल्डमा बस्ने अवस्थामा अहिले शून्यमा झरेको उनको भनाइ थियो ।

एक घर एक पीसीआर सम्भव छैन

कोरोना संक्रमणको दर बढिरहँदा परीक्षणको दर पनि बढाउनुपर्ने माग उठिरहेको छ । गण्डकी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक घर एक पीसीआर टेस्टको माग गर्दै संसदमा संकल्प प्रस्ताव नै दर्ता गराएको छ ।

एक घर एक पीसीआर टेस्ट हुनुपर्ने, परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना संक्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटेर कांग्रेसले संसदमा संकल्प प्रस्ताव नै दर्ता गराएको छ ।

संकल्प प्रस्तावमाथि जवाफ तथा छलफल दिने विषयलाई संसद बैठकको कार्यसूचीबाटै हटाइएपछि २ पटकसम्म कांग्रेसले संसद अवरुद्ध नै गरिसकेको छ ।

यस विषयमा मुख्यमन्त्री गुरुङले कांग्रेसले नचाहिँदो माग राखेर चर्चा बटुल्न खोजेको बताए । एक घर–एक पीसीआर परीक्षण अहिले सम्भव नभएको मुख्यमन्त्री गुरुङको भनाइ छ ।

‘कांग्रेसले भने झैं एक घर एक पीसीआर टेस्ट एक प्रतिशत पनि सम्भव छैन । गण्डकी प्रदेशमा करिब ५ लाख ७८ हजार घरधुरी छन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘यो पीसीआर टेस्ट गर्न २ वर्ष लाग्छ । अर्बौं रुपैयाँ खर्च लाग्छ ।’

संक्रमणको जोखिम रहेको समूह, देखिइसकेपछि ट्रेसिङ गरेर परीक्षण हुने तर एक घर, एक पीसीआर टेस्ट गर्नुपर्ने अवस्थामा संक्रमण नफैलिएको मुख्यमन्त्री गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment