Comments Add Comment

कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु

२१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्जमै उपचारका क्रममा मृत्यु भएको छ ।

४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पेड पीसीआर गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो । साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार उनमा खोकी र ज्वरोको समस्या थियो । अक्सिजन दिँदासमेत उनको शरीरमा अक्सिजन मेन्टेन भईरहेको थिएन । मुटुले काम गर्न छोडेपछि बिहान उनको निधन भयो । वीरगञ्ज हेल्थ केयरमा मृगौलाको डायलायसिस गराउँदै आएका ४ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको छ ।

यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई वान्ता आउनुका साथै झडापखाला लागेको थियो । अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज पुर्‍याइएको थियो । अस्पतालको इमर्जेन्सीमा पुग्नेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

मेडिकल कलेजमै स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा साउन २० गते मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए ।

ती युवतीको घर पोखरिया–८ जगतपुर हो । तर उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment