Comments Add Comment

नरेन्द्र मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् । बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् ।

सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो । यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो ।

गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो । अदालतले मुस्लिक मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो ।

यससँगै भारतमा कोरोना भाइरस महामारीको बीचमा मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् । मोदीको पार्टी भारतीय जनता पार्टीका लागि राम मन्दिरको निर्माण महत्वपूर्ण प्रतिबद्धता थियो । हिन्दू राष्ट्रवादी मोदीले यसअघि राम मन्दिर निर्माणको वाचा गरेका थिए ।

अधिकारीहरुले राम मन्दिरको शिलान्यास समारोहको क्रममा कोरोना भाइरसबाट बच्नका लागि आवश्यक मापदण्ड पालना गरिएको बताएका छन् । तर, समारोहमा पुगेका मानिसहरुले मास्क लगाउने तथा भौतिक दुरीको नियम पालना नगरेको पाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतभरका भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् । उनीहरुले सिक्का, इँटा र बारको रुपमा यी बहुमूल्य धातुहरु मन्दिर निर्माणमा प्रयोग गर्न दिएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार केही वर्षयता मन्दिर निर्माणको लागि भक्तहरुबाट संकलन गरिएको ‘श्री राम’ लेखिएको दुई लाख इँटा मन्दिरको आधार निर्माणको लागि प्रयोग हुनेछ ।

अयोध्याको मुद्दा के हो ?

सन् १९९२ मा हिन्दूहरुले उक्त विवादित स्थानमा रहेको १६ औं शताब्दीको मस्जिद भत्काइदिएका थिए । जसको कारण शुरु भएको हिंसामा परी करिब दुई हजार मानिसको मृत्यु भएको थियो । हिन्दूहरुका अनुसार उक्त बाबरी मस्जिद राम मन्दिर भत्काइएपछि सोही स्थानमा बनाइएको थियो । उनीहरुका अनुसार मुस्लिमहरुले राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाएका थिए ।

मुस्लिमहरुका अनुसार सन् १९४९ मा केही हिन्दूहरुले मस्जिदमा रामको मूर्ति राखेर पूजा गर्न थालेका थिए । त्यसयता दुई धर्मका संगठनहरुले अदालतमा यो क्षेत्र आफ्नो रहेको दाबी गर्दै मुद्दा लड्दै आएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment