Comments Add Comment

झाडावान्ताले गलायो, मृत्युपछि कोरोना पुष्टि भयो !

२२ साउन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाकी १८ वर्षीया युवतीलाई झाडावान्ता भयो । मामाघरमा हजुरआमाको हेरचाह गर्न बसेकी उनलाई धेरै गाह्रो भएपछि सोमबार नेशनल मेडिकल कलेज पुर्‍याइयो । तर अस्पतालको इमरजेन्सीमा पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरे । उनको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

झाडापखाला लागेर अस्पताल पुगेको र मृत्यु भएपछि कोरोना पुष्टि भएको यो पहिला घटना होइन ।

साउन ९ गते मृत्यु भएकी १७ वर्षीया महिलामा पनि सुरुमा झाडावान्ता भएको थियो । भारतमा बिहे गरेकी उनी लकडाउन खुकुलो भएपछि वीरगञ्ज-२१ परवानीपुरस्थित माइत आएकी थिइन् । सुरुमा उनलाई झाडावान्ता भयो । नारायणी अस्पतालमा एक रात उपचार गराएर फर्किएकी उनलाई फेरि समस्या आयो र ७ गते वीरगञ्ज हेल्थ केयरमा भर्ना भइन् । आरडीटी पोजेटिभ आएपछि कोभिड अस्थायी अस्पतालमा भर्ना भएकी उनको ९ गते मृत्यु भयो । उनको पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।

सुरुमा उनलाई झाडावान्ता भएको थियो । चिकित्सकहरुका अनुसार श्वास प्रश्वासमा पनि देखियो । नारायणी, वीरगञ्ज हेल्थकेयर हुँदा शंकास्पद कोरोना संक्रमितको रुपमा कोरोना अस्पताल पुगेकी उनको उपचारकै क्रममा मृत्यु भयो । मृत्यु भएको दुई दिनपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आयो ।

अस्थायी अस्पताल गण्डकमा रौतहटबाट रिफर भएका एक विरामी पर्साका सांसद प्रदीप यादवलाई पनि झाडापखाला लागेको थियो । संक्रमितको उपचारमा खटिएका डा. निरज सिंह केही संक्रमितमा पखालाको समस्या देखिएको बताउँछन् ।

‘१७ वर्षीया महिलालाई झाडापखाला नै भनेर नारायणीमा भर्ना गरिएको थियो । निको भएर घर गए पनि पुनः समस्या भएर अस्पताल ल्याइएको हो । गण्डकमा ल्याउँदा जिउ काम्ने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या पनि देखियो,’ डा. सिंहले भने, ‘प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई पनि शुरुमा डायरिया भएको हो । अरु एक-दुई जना कोरोना संक्रमितमा पनि त्यस्तै थियो ।’

जबकी सुरुमा उच्च ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या हुनुलाई कोरोनाका मुख्य लक्षण मानिन्थ्यो । पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत टेष्टिङ प्रोटोकल परिवर्तन गरेर स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालालाई पनि कोरोनाको लक्षणमा समावेश गरेर उनीहरुको पीसीआर टेष्ट गर्ने निर्णय गरेको छ ।

संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी पनि कोरोना संक्रमणले फोक्सोमा मात्र नभई संक्रमितको मुटु, दिमाग, पेटमा समस्या ल्याउनसक्ने बताउँछन् । ‘पहिले समुदायमा संक्रमण फैलिएको थिएन । त्यही भएर सबै लक्षण देखिएको थिएन,’ उनले भने, ‘समुदायमा संक्रमण फैलिएपछि हरेक उमेर समूहमा मान्छेलाई असर गर्छ । अहिलेसम्म प्राप्त तथ्यांक अनुसार १८ प्रतिशतसम्म संक्रमितलाई वान्ता, झाडापखाला जस्ता पेटका समस्या हुनसक्छ ।’

तर यस्ता लक्षण भएका संक्रमितको मृत्यु भएपछि कारण खोजी नगर्ने गरिएको नारायणी अस्पताल, वीरगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय बताउँछन् ।

‘समुदायमा संक्रमण फैलिएकाले जो कोही संक्रमित हुन सक्छन् । कोहीको कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुन्छ, केहीको मृत्युपछि कोरोना संक्रमण पुष्टि हुन्छ,’ उनले भने, ‘तर कोरोनाले मात्र मरेको हो वा अन्य रोग वा संक्रमण पनि थियो, भन्न गाह्रो छ ।’ मृत्युको यकिन कारण पत्ता लगाउन संक्रमितको रगत, दिसा, पिसाब जाँच गर्नुका साथै पोष्टमार्टम गर्नुपर्ने उनी बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि त्यसमा सहमत छन् । उनका अनुसार नेपालमा हरेक वर्ष देखिने संक्रामक रोगहरु छन्, जसले केही मानिसको ज्यान पनि लिन्छ । ‘कोरोना आएपछि अरु रोग नदेखिने भन्ने हुँदैन । त्यसैले कोरोना मात्र हो वा अरु संक्रामक रोग हो भनेर छुट्टाउन जरुरी देखिन्छ,’ उनले भने ।

कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु भएका वा मृत्युपछि संक्रमण पुष्टि भएकामध्ये केहीमा स्क्रब टाइफस वा झाडावान्ता पनि देखिएको भन्दै डा. पुन भन्छन्, ‘हामीले बर्सेनि उपचार गर्दै आएको संक्रामक रोग रहेछ, तर कोरोना भएकै कारण त्यसको उपचार नपाएर सबैको मृत्यु भयो भने त्यो विडम्बनापूर्ण हुन्छ ।’

यसका लागि कोभिड-१९ बाहेक अरु पनि परीक्षण गर्न जरुरी रहेको डा. पुनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment