Comments Add Comment

के अब मास्कको फेसन चल्छ ?

हाम्रो नाक र मुख ढाक्ने मास्क अबका दिनमा अनिवार्य आवश्यक्ता बन्न सक्ला ? प्रयोगकर्ताको रुची अनुसार अनेक बान्की र ढाँचाको मास्क उत्पादन होला ? के अब मास्कको पनि फेसन आउला ?

यो संभावनालाई अहिले हलिउड–बलिउड सेलिब्रेटीहरुले खुला गरिदिएका छन् । उनीहरुकै सिको गर्दै आम युवायुवतीले पनि मास्कलाई आफ्नो पहिरनको एउटा हिस्सा बनाउन सक्नेछन् । केही समयअघि काठमाडौंका  विद्यार्थीहरुले नयाँ अभ्यास गरे, मास्कको फेसन शो । मास्कको प्रयोगलाई प्रोत्साहित गर्न नव आशा गृह विद्यालयका विद्यार्थीहरुले ‘मास्कको फेसन शो’ गराएका हुन् । त्यस क्रममा उनीहरुले थरीथरी साजसज्जाका मास्क लगाएर ¥याम्पमा हिँडेका थिए ।

अब यस्तो पनि दिन आउनसक्छ कि, पाइन्ट–सर्ट, कुर्ता–सुरुवाल, जुत्ता–मोजा जस्तै मास्क हाम्रो पहिरनकै एक अनिवार्य हिस्सा बन्नेछ । अन्ततः मास्कप्रतिको स्वभाविक रुची र शौखहरु पनि प्रकट हुनेछन् । मान्छेले आफ्नो रुची अनुसारकै मास्कको ढाँचा खोज्नेछन् । र, मास्कलाई पहिरन शैलीकै एक अभिन्न अंश मानिनेछ ।

खासमा मास्कको प्रयोग धुलो–धुँवाबाट फोक्सोलाई बचाउनका लागि हुँदै आएको थियो । स्वास्थ्य संवेदनशिलता भएको क्षेत्र अस्पताल, शल्यक्रिय कक्षमा स्वास्थ्य सुरक्षाका लागि मास्क लगाउने गरिन्थ्यो । तर, अहिले मास्कको उपयोगिता बढेको छ । वैश्विक रुपमै यसको किनबेच भइरहेको छ । स्वास्थ्य सुरक्षाका लागि यसको व्यापकता बढेसँगै यसको बान्की एवं साजसज्जामा ध्यान दिन थालिएको छ ।

मास्क अहिलेको बाध्यता हो । तर, मान्छेले आफ्ना बाध्यताहरुलाई शौखमा रुपान्तरण गर्छ । र, त्यसप्रति आ–आफ्नै रुची र मनोविज्ञान मिसाउन थाल्छन् । यसरी कुनैपनि कुरा कालन्तरमा फेसन बन्छ । सर्ट,  पाइन्ट, कुर्ता, क्याप, चस्मा आदि हिजो बाध्यता थियो, आज रहर । ठीक यसैगरी मास्कमा पनि उपभोक्ताको रहर एवं सौख प्रकट हुनसक्छ ।

खासगरी सेलिब्रेटीहरुले आफ्नो अनुहार र पहरिन शैलीसँग संयोजन मिलाएर मास्क प्रयोग गर्न थालेका छन् । उनीहरुले मास्क लगाउनैपर्ने बाध्यतालाई शौखमा रुपान्तरण गरेका छन् । तन्नेरी पुस्तामा पनि यस्तो लहड चलेको छ । र, यसले जन–जागरणका लागि एक सकारात्मक पहल गर्नेछ ।

उपभोक्ताको यो रुचीलाई उत्पादकहरुले ख्याल राखेको हुनुपर्छ र भोलिका दिनमा सोही अनुसारको मास्क उत्पादन गर्न सक्नेछन् ।

अहिले कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि मास्क अनिवार्य बनेको छ । बजारमा केही थरीका मास्क प्रचलनमा छन् । अहिले धेरैजसोले सजिलो, सस्तो मास्क प्रयोग गरिरहेका छन् भने स्वस्थ्य सचेतना अपनाउनेहरुले गुणस्तरिय मास्क खोजिरहेका छन् । मास्कलाई एक बाध्यत्मक आवश्यक्ताको रुपमा अपनाएको पाइन्छ । यदि अबका दिनमा मास्कले फेसनको रुप लिएमा यसको बान्की, गुणस्तरदेखि प्रयोग विधीसम्ममा नयाँ जागरण आउनेछ । त्यसपछि यो बाध्यताभन्दा बढी रहर एवं शौख हुनेछ ।

वैज्ञानिकहरु भनिरहेका छन्, ‘कोरोना भाइरस पूर्णत निर्मूल नहुन सक्छ ।’ अबका दिनमा मानव समुदायले कोरोना भाइरससँगै बाँच्नुपर्ने स्थिति पनि आउनसक्छ भनिरहेका छन् । किनभने  अहिलेसम्म कोरोना भाइरसको निश्चित उपचार विधी पहिल्याइएको छैन । भोलि यस विरुद्ध खोप वा औषधि–उपचार नै उपलब्ध भएपनि कोरोना भाइरस पूर्ण रुपमा नष्ट नहुन सक्छ ।

कोरोना भाइरसको कारण मानव शरीरमा जुन एन्टिबडी निर्माण भएको छ, त्यसले लामो समय काम गरेको पाइदैन । तीन महिनापछि पुन संक्रमित व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस हिसाबले हामी कोरोनासँगै बाँच्नुपर्ने अवस्था पनि आउनसक्छ । त्यसो हो भने शारीरिक दुरी, व्यक्तिगत सरसफाई सँगै हाम्रा लागि मास्क एक अनिवार्य आवश्यक्ता बन्नेछ ।

त्यसो त कोरोना भाइरसबाट बच्न मात्र होइन, यस्तै अन्य संक्रमण र वायुमण्डलिय प्रदूषणबाट बच्न पनि मास्क उपयोगी हुन्छ । त्यसैले सामान्य अवस्थामा समेत मास्कको प्रयोग हितकारी नै हुनेछ । एक त यसले सरुवा रोगको जोखिम घटाउनेछ भने घाम, धुलो आदिबाट अनुहारको रक्षा समेत गर्नेछ । स्वास्थ्य मात्र होइन, व्यक्तिगत सुरक्षाका लागि समेत मास्क उपयोगी हुनसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment