Comments Add Comment

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

२२ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट काठमाडौंमा दुई र पर्सामा दुई गरी चार जनाको मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र १० जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा दुई जनाको मृत्यु

कोरोना संक्रमणका कारण काठमाडौं उपत्यकामा थप दुईजनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–९ माईस्थानका एक पुरूषकाे कोरोना संक्रमणबाट पाटन अस्पतालमा बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएकोमा बिहीबार दिउँसो मृत्यु भएको आफन्तजनले जनाएका छन् ।

मुटु रोगी समेत रहेका उनमा स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उपचारका लागि वीरगञ्जबाट काठमाडौं ल्याइएको थियो । उनको काठमाडौंमा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

कन्ट्याक्ट ट्रेसिङमा परेका उनकी ५५ वर्षीया दिदीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दिदीको अवस्था सामान्य छ ।

यसैगरी ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

दम, होइपोथाइरोडिजम र उच्च रक्तचापका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या हुनुका साथै पेट दुखेर धनुषाबाट ओममा ल्याइएको थियो । १७ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ भैरहेको अस्पतालले जनाएको छ ।

पर्सामा थप दुई जनाको मृत्यु

समुदाय स्तरमा संक्रमण फैलिएको मानिएको पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज-११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

यस्तै बिहीबार बिहान वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो ।

उनको बिहान ८ बजे मृत्यु भएको थियो । मधुमेह र मुटु रोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति १० बजेपछि स्वास्थ्य अवस्था विग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको र साँझ कोभिड संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment