
२३ साउन, काठमाडौं । कैलालीको टिकापुर घटनाका दोषी रेशम चौधरी अस्पताल भर्ना भएका छन् । डिल्लीबजार कारागारमा रहेको उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
कारागार सुरक्षामा खटिएका एक अधिकारीले अनलाइनखबरलाई बताए अनुसार चौधरीको खुट्टा र मुटुमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पताल भर्ना गरिएको छ ।
टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेका वेला ७ भदौ ०७२ मा डेढ वर्षीय नाबालकसहित ८ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । घटनाका मुख्य आरोपित चौधरी लामो समय फरार थिए । प्रहरीबाट भाग्दै बसेका उनले वारेसनामामार्फत निर्वाचनमा समेत भाग लिएका थिए र २१ हजार मतान्तरले विजयी पनि भए ।
तर, चौधरीले निर्वाचन आयोगबाट सांसदको प्रमाण पत्र लिन पाएनन् । अदालतमा १४ फागुन २०७४ मा आत्मसमर्पण गरेको एक वर्षपछि १९ पुस २०७५ मा उनलाई सांसद पदको सपथ ग्रहण गराइएको थियो ।
जिल्ला अदालत, कैलालीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी सम्बन्धी मुद्दामा चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ ।
प्रतिक्रिया 4