Comments Add Comment

डाइनोसरलाई क्यान्सर !

प्राणघातक रोग क्यान्सर भन्ने बित्तिकै जो कोहीको मन डराउँछ । बदलिँदो जीवनशैली तथा प्रदूषणलगायतका कारण पछिल्लो समयमा विश्वमा क्यान्सर रोगीहरुको संख्यामा समेत वृद्धि हुँदै गएको तथ्यांक छ ।

आधुनिक युगमा मानिसका लागि डरलाग्दो रोग करोडौँ वर्ष अघिचाहिँ पृथ्वीमा रहेका विशालकाय जीवहरुमा समेत रहेको तथ्य पत्ता लागेको छ ।

पृथ्वीमा भएको प्रलयका कारण करोडौँ वर्षअघि लोप भएको मानिएको डाइनोसरमा समेत क्यान्सर जस्तो प्राणघातक रोग हुने गरेको वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन् ।

सन् १९८९ मा क्यानडाको अल्बर्टा प्रान्तमा डाइनोसरको हड्डी फेला परेको छ । ७ करोड ६० लाख वर्ष पुरानो उक्त हड्डीमा देखिएको एउटा असाधारण बनोटका विषयमा वैज्ञानिकहरुले अध्ययन जारी राखेका थिए । हड्डीको उक्त बनोट हड्डी टुटेका कारण भएको यसअघि अनुमान गरिएको भएता पनि अन्ततः वैज्ञानिकहरुले उक्त डाइनोसरमा क्यान्सर भएको पुष्टि गरेका छन् ।

लेसेन्ट अन्कोलोजिकल जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार शाकाहारी डायनोसरको हड्डीमा जुन विकृति देखिएको थियो त्यो हड्डीको क्यान्सर अर्थात् ओस्टियोसार्कोमाका कारण भएको थियो ।

टोरन्टोस्थित रोयल ओन्टेरियो म्युजियमका जिवावशेष वैज्ञानिक डेभिड इभान्सका अनुसार डाइनोसरको उक्त हड्डी ६ मिटर लामो छ । उक्त डानइनोसर पृथ्वीमा जीवको इतिहासको एक कालखण्डको रुपमा रहेको क्रेटेसियस कालको भएको उनको भनाइ छ । त्यस समयमा चारखुट्टे शाकाहारी डायनोसर पृथ्वीमा थिए ।

फेला परेको उक्त हड्डी डाइनोसरको पछिल्लो खुट्टाको हो । उक्त हड्डीमा स्याउभन्दा पनि ठूलो आकारको क्यान्सर ट्युमर रहेको छ । उक्त हड्डीको क्यान्सर निकै नै छिप्पिएको अवस्थामा रहेको शोधकर्ताहरुको निष्कर्ष छ । वैज्ञानिकहरुले हड्डीमा रहेको सो ट्युमरको पुष्टि गर्नका लागि सिटी स्क्यानबाट परीक्षण गरेका थिए ।

शोधकर्ताहरुका अनुसार ७ करोड ६० लाख पुरानो उक्त डाइनोसर आफ्नो मृत्युअघि क्यान्सरका कारण निकै कमजोर भएको हुनसक्छ । भलै सो डाइनोसर क्यान्सरकै कारण मरेको नहुन सक्दछ । तर रोगका कारण उसलाई हिँडडुल गर्न निकै समस्या परेको हुनसक्ने ठहर शोधकर्ताहरुको छ ।

यस अनुसन्धानबाट के पुष्टि भएको छ भने डाइनोसर युगमा समेत अहिले मानिस तथा अन्य जीवजन्तुमा हुने अनेक खालका रोगहरु हुने गर्दथे ।

यसबाट अर्को के तथ्य पनि प्रमाणित हुन्छ भने डाइनोसर जति नै ठूलो भए पनि पृथ्वीमा अन्य सामान्य जिवहरु सरह नै रहेका थिए र यिनीहरुले पनि दुर्घटना तथा विभिन्न रोगहरु झेल्नु पर्दथ्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment