Comments Add Comment

मनसुनी रेखा नेपाल नजिक, शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने

२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ ।

केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘साउन २४ गते रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

‘दुई–तीन दिनपछि मनसुनी प्रभाव कम हुन्छ’

हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । न्युन चापीय रेखा जहाँ पर्छ त्यहाँ वर्षा हुन्छ ।

मौसमविद शान्ति कँडेलका अनुसार मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्ने छ । तर, लगातार झरी परिरहने छैन ।

मौसमविद कँडेलले अनलाइनखबरसँग भनिन्, ‘मनसुनी रेखा नेपाल नजिक सर्दै छ । यसले लगातारको झरी पार्ने, २४ सै घण्टा पानी पार्ने अवस्थाचाहिँ छैन । राति अलिकति बढी प्रभाव पार्ने देखिन्छ ।’ उनले दुई–तीन दिनपछि बिस्तारै मनसुनी प्रभाव कम हुँदै जानसक्ने बताइन् ।

सतर्कता अपनाउन अनुरोध

शनिबार बिहान प्रदेश नं. २ मा र प्रदेश नं. ५ का केही भू–भागहरुमा आंशिक बदली छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

शनिबार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment