Comments Add Comment

कोरोनाको ‘हटस्पट’ बन्यो विराटनगर

तीनजनाको मृत्यु, कोशीबाहेकका अस्पतालमा ओपीडी बन्द

२५ साउन, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना भाइरस .कोभिड–१९) को ‘हटस्पट’ बनेको छ । शनिबार रातिसम्म विराटनगर महानगरपालिकामा २७८ जनालाई संक्रमण पुष्टि भएको छ, जसमध्ये तीनजनाको मृत्यु भइसकेको छ ।

६ साउनसम्म विराटनगरमा ३० जना मात्र संक्रमित थिए । उनीहरु भारत तथा तेस्रो मुलुकबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु थिए । तर पछिल्लो १९ दिनमा विराटनगर महानगरपालिकाभित्र २४८ जना कोरोना संक्रमित थपिएका छन् ।

अधिकांश संक्रमित ट्राभल हिस्ट्री छैन । कोरोनाका कारण ज्यान गुमाएका विराटनगर–९ का दुई जना वडा नम्बर ५ का एक जनाको पनि ट्राभल हिस्टी भेटिएको छैन । ट्राभल हिस्ट्री नभएका धेरै संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाले समुदायस्तरमा संक्रमण फैलिएको निष्कर्ष निकालेको छर शनिबारदेखि विराटनगरमा लकडाउन गरेको छ । परीक्षणको दायरा पनि बढाएको छ ।

शनिबारसम्म विराटनगरमा ३ हजार ५४५ जनाको पीसीआर जाँच भएको छ । दैनिक दुईसय जनासम्मको पीसीआर जाँचका लागि स्वाब संकलन गरिरहेको छ । प्रदेशमा परीक्षण गर्ने क्षमता सिमित भएकाले स्वाब संकलन धेरै गर्न नसकिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।

दुई अस्पताल सिल, दुईमा आकस्मिक सेवा सञ्चालन 

विराटनगरमा संक्रमित हुनेमा स्वास्थ्यकर्मीहरु पनि छन् । महानगरभित्र संक्रमित स्वास्थ्यकर्मीको संख्या ४८ भन्दा बढी रहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएपछि विराटनगरका चार अस्पताल सिल गरिएको थियो ।

विराटनगरको न्यूरो अस्पताल, गोल्डेन अस्पताल, विराट नर्सिङहोम र मोरङ सहकारी अस्पताल सिल भएका थिए । त्यसमध्ये न्यूरो र विराट नर्सिङहोमले आकस्मिक सेवा सञ्चालन गरेका छन् ।

कुन अस्पतालमा कति संक्रमित ?

विराटनगरको कोशी अस्पतालमा हालसम्म १७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा एक जना डाक्टर, ७ जना नर्स, ३ जना सफाई कर्मचारी, दुई जना प्राविधिक र अन्य प्रशासनका कर्मचारी छन् ।

स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पतालमा आउने सेवाग्राहीको संख्या घटेको छ । सेवाग्राहीको संख्या घटेपछि चिकित्सकले आवश्यकता अनुसारमात्र  बिरामीसँग भेट गरिरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

विराट नर्सिङहोम (विराटनगर अस्पताल) का एक सेवाग्राहीसहित १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा तीनजना डाक्टर र पाँचजना स्टाफ नर्स छन् भने अरु प्रशासनका कर्मचारी हुन् ।

न्यूरो अस्पताल विराटनगरमा ८ जनालाई संक्रमण पुष्टि भएको छ । जसमा पाँच स्टाफ नर्स, एकजना डाक्टर र एक जना सफाइ कर्मचारी र एकजना सेवाग्राही छन् । न्यूरो अस्पतालले संक्रमण पुष्टि भएका आफ्ना स्टाफलाई आफ्नै आइसोलेसनमा राखेको अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

गोल्डेन अस्पतालमा दुई स्वास्थ्यकर्मी र एकजना प्रशासनका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रशासन प्रमुख सन्तोष मेहताका अनुसार संक्रमितमध्ये एकजना इमरजेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मी हुन् । एक जना डाइलासिस विभाग र एक जना प्रशासनमा काम गर्ने कर्मचारी हुन ।

मोरङ सहकारी अस्पतालमा पाँचजना कर्मचारीमा कोरोना देखिएको अस्पताल सञ्चालक विकास अधिकारीले बताए । संक्रमण देखिएपछि गोल्डेन र मोरङ सहकारीले बिहीबारबाट ओपीडी र इमरजेन्सी सेवा बन्द गरेका छन् ।

नोबेल मेडिकल कलेजमा दुई जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई डाक्टरलाई कोरोना देखिएपछि नोबेल मेडिकल कलेजले ओपीडी सेवा बन्द गरेको छ । विराटनगरको म्याक्स अस्पालका दुई सेवाग्राहीलाई कोरोना देखिएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको छ ।

सुरक्षाकर्मी पनि संक्रमित

विराटनगरमा संक्रमण पुष्टि भएकामध्ये प्रदेश प्रहरी कार्यालयमा कार्यरत ३३ जना छन् । एक जना जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कर्मचारी छन् । संक्रमित प्रहरीमध्ये बिहीबारसम्म १७ जना निको भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

विराटनगरमा चारजना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार तीन र शनिबार थप एकजनालाई संक्रमण पुष्टि भएको हो ।

अस्पतालबाट समूहमा पुग्यो

विराट नर्सिङहोम सञ्चालक समेत रहेका चिकित्सकलाई ७ साउनमा संक्रमण देखिएको थियो । तर स्वाब दिँदा नाम र ठेगाना गलत लेखाएका कारण संक्रमितको पहिचान गर्न दुई दिन लाग्यो । ९ गते अस्पताल सिल गरी स्वास्थ्यकर्मी र सेवाग्राहीको जाँच गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

विराटमा काम गर्ने स्वास्थ्यकर्मी कोशी र न्यूरोमा पनि काम गरेको देखिएकाले दुई अस्पतालमा विराटबाटै संक्रमण फैलिएको हुनसक्ने प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिर बताउँछन् । पहिलो चरणको लकडाउन खुकुलो भएसँगै सीमा नाका पनि खुकुलो भएको थियो । खुला नाकाबाट भित्रिएकाहरुमार्फत समूहमा कोरोना संक्रमण पुगेको उनले बताए ।

प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ३८३ पुगेको छ, जसमध्ये ९१० जना निको भइसकेका छन् । प्रदेशका १४ मध्ये सबैभन्दा बढी मोरङमा ५४२ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये चारजनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment