Comments Add Comment

बक्सिङ संघभित्रको विवाद पद्धतिको कि चुनावी दाउपेच ?

२४ साउन, काठमाडौं । निर्वाचन आउँदा खेल संघमा आरोप प्रत्यारोप खासै नयाँ होइन । पछिल्लो पटक नेपाल बक्सिङ संघभित्रको विवाद सार्वजनिक भएको छ र यसलाई संघको आगामी निर्वाचनसँग जोडेर हेरिएको छ ।

पछिल्लोपटक संघका महासचिव सविन भट्टाचार्यले कार्यसमिति बैठकको निर्णयमा असहमति जनाउँदै विज्ञप्ति जारी गरेपछि विवाद बाहिरिएको छ । साउन १४ र १५ गते भएको पूर्ण केन्द्रीय समितिको बैठकमा असहमति लेख्न नपाएको र दुर्व्यवहार भएको, भन्दै भट्टाचार्यले १७ गते विज्ञप्ति जारी गरी असन्तुष्टि सार्वजनिक गरे ।

बक्सिङ संघमा आर्थिक पारदर्शिता नभएको, परिवारवाद हावी भएको, बक्सिङ खेल नै नहुने जिल्लामा जिल्ला संघ गठन गरिएको र संघलाई विधानअनुसार नचलाएको आरोप उनले लगाएका छन् । विरोधी पक्षको नेतृव महासचिव भट्टचार्यले गरेका छन् । उनले बक्सिङको राष्ट्रिय प्रतियोगिता गर्न नसकेको र अध्यक्ष राम अवालेले एकलौटी रुपमा संघ चलाउन खोजेको आरोप पनि लगाएका छन् ।

बक्सिङ संघमा २०७३ साल जेठमा राम अवालेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन हुँदादेखि नै विवाद थियो । तत्कालिन महासचिव दीपक गुरुङले साधारण सभा रोक्न राष्ट्रिय खेलकुद परिषदमा आग्रह गरेपनि असन्तुष्ट समूह पनि निर्वाचनमा सहभागी भएपछि नयाँ कार्यसमिति चयन भएको थियो । निर्वाचनको १५ महिनापछि मात्र २०७४ साल भदौमा मात्रै कार्यसमितिले राखेपबाट मान्यता पाएको थियो ।

त्यसयता वार्षिक साधारण सभा नभएको, राष्ट्रिय प्रतियोगिता नियमित गर्न नसकेको, विधानमा नै नभएको मानार्थ अध्यक्ष राखिएको, कोषाध्यक्षलाई हटाएर कार्यवाहक कोषाध्यक्षबाट आर्थिक गतिविधि र बैंक खाता सञ्चालन गरिएको महासचिव भट्टाचार्य बताउँछन् ।

भट्टाचार्य भन्छन्, ‘अध्यक्षको नियत नै सफा छैन । निषेधको राजनीति गर्नुहुन्छ र भोटिङको लागि मात्र काम गर्नुहुन्छ । उहाँले राम्रोसंग काम गर्न नसकेकोले नै यो सबै भएको हो ।’

संघमा हाल कार्यवाहक कोषाध्यक्षको रुपमा राम गिरीले काम गरिरहेका छन् । गत साउन १४ र १५ गतेको कार्यसमिति बैठकमा आर्थिक प्रतिवेदन पास गर्ने बेलामा महासचिव भट्टाचार्य र कोषाध्यक्षले विरोध जनाए ।

‘हामीले पहिलादेखिको खर्च हेर्न पाएका छैनौं । कम्तीमा खर्च हेर्नुपर्छ भनेको हो । यसमा अध्यक्षहरुले बहुमतले सदर गरेपछि तपाईले किन सदर नगर्ने भनेपछि विवाद भयो र अन्तिममा दादागिरी देखाउने गरी प्रस्तुत हुनुभएकोले यो विवाद बाहिर आएको हो’ महासचिव भट्टाचार्यले भने ।

पछिल्लो समय आफूले भनेको नमान्नेहरुलाई अध्यक्षले निषेध गर्दा गुटबन्दी जस्तो देखिएको भट्टाचार्यले बताए । ‘सबै जना अध्यक्षकै टिम हो । तर उहाँले सबैलाई नजिक राख्न नसकेको मात्र हो’ उनले भने ।

अध्यक्ष अवालेले बक्सिङ संघमा आफ्नै भाइ श्याम अवालेलाई मनोनित गरी प्रवक्ता र अन्तर्राष्ट्रिय डिरेक्टरसम्म नियुक्त गरेर परिवारवाद हावी गरेको आरोप पनि महासचिव भट्टाचार्यले लगाएका छन् । ‘उहाँले भाइलाई प्रवक्तादेखि अन्तर्राष्ट्रिय डिरेक्टरसम्म बनाउनुभयो । तर यो विधानको दफा अनुसार बैठकले निर्णय गरेर भएको होइन’ उनले भने ।

अध्यक्ष अवाले भने बक्सिङको विकास नचाहनेहरुले भाँजो हाल्न खोजेको आरोप लगाउँछन् । ‘बक्सिङको विकास नचाहने, यसमा भाँजो हाल्न खोज्नेहरुले गर्दा यो स्थिति आएको हो । बक्सिङको विकास भएको देख्न सक्दैनन्’ उनी भन्छन् ।

साधारणसभा किन गर्न नसकेको भन्ने प्रश्नमा भने उनी कार्यसमिति बैठक त राख्न नसकेको बेलामा कसरी साधारण सभा गर्न सकिन्छ भन्ने जवाफ दिन्छन् ।

उनले आफूले झापामा एउटा राष्ट्रिय प्रतियोगिता र काठमाडौंमा नोभिस प्रतियोगिता गरेको दावी गर्छन् । ‘मेरै पालामा सातौं राष्ट्रिय र आठौं राष्ट्रिय खेलकुद भयो । झापामा पनि हामीले गर्‍यौँ । नोभिस गर्‍यौँ । १३ औं सागमा पनि ३ स्वर्ण आयो’ अवालेले भने ।

भाइलाइ नियुक्ति गरेको विषयमा भने अध्यक्ष अवालेले आफूले राम्रो काम गर्ने र राम्रो आइडियालाई मात्र हेरेको बताउँछन् । ‘नभए बक्सिङ यहाँसम्म आइपुग्ने नै थिएन’ राम अवालेले भने, ‘जसको पनि राम्रो आइडिया छ भने लिनुपर्छ भन्ने हो ।’

नेपाल बक्सिङ संघ कार्यकाल जेठ तेस्रो सातापछि नै सकिएको छ । तर कोरोना महामारीले गर्दा अहिले तत्काल निर्वाचन गर्न सक्ने अवस्था छैन । अब अवस्था सामान्य भएपछि नयाँ खेलकुद ऐन अनुसार बक्सिङ संघको पनि निर्वाचन हुनुपर्नेछ ।

असन्तुष्ट समूहले अध्यक्ष अवालेले फेरि अध्यक्षमा दोहोरिन आफू अनुकुलका जिल्ला संघ विस्तार गर्न थालेको आरोप लगाएका छन् । हाल बक्सिङ संघको २६ वटा मात्र जिल्ला संघ छन् । तर अहिले थप १४ जिलल्मा संघ गठन गरिएको छ ।

‘जसमा ४ जिल्लामा मात्र बक्सिङ खेल हुन्छ । खेलाडीले सहभागिता जनाउँछन् भोलिन्टियर प्रशिक्षक छन् । बाँकी १० जिल्लामा बक्सिङको ब पनि सुनेको छैन’ महासचिव भट्टाचार्यले भने ।

बक्सिङ संघको विवादलाई आगामी निर्वाचनसँग जोडेर पनि हेरिएको छ । यो अरु विषय नभई आगामी निर्वाचनमा पदको लडाइ भएको पनि बक्सिङ संघका जानकारहरु बताउँछन् । तर महासचिव भट्टाचार्य आफूले बक्सिङमा पारदर्शिता हुनुपर्छ भन्ने आवाज मात्र उठाएको बताए ।

पारदर्शिता कायम गरेमा आफूहरुको असहमति नरहने उनी बताउँछन् । ‘यसको मिल्ने केन्द्रविन्दु भनेको सहमति नै हो । कमसेकम उहाँहरुले पारदर्शिता गर्दिनुपर्‍यो । उहाँहरुले कोषाध्यक्षलाई साइड लगाएर महासचिवलाई प्यासिभ बनाएको अवस्थामा दुवै जनालाई एक्टिभ बनाउनुपर्छ । सम्पूर्ण बिल भर्पाई हेर्न पाउनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment