Comments Add Comment

बैङ्कका कर्मचारीलाई जोर–बिजोर लागु हुन्छ कि हुँदैन ?

परिचयपत्रले पुग्दैन, पास देखाउनुपर्छ : ट्राफिक प्रहरी

२५ साउन, काठमाडौं । सरकारले सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागु गरेको छ । तर, अत्यावश्यक सेवाका लागि भने जोर–बिजोर लागु हुँदैन । उसोभए, बैङ्कमा काम गर्ने कर्मचारीहरुका लागि जोर–बिजोर सवारीको नियम लागु हुन्छ कि हुँदैन त ?

सरकारले अत्यावश्यक सेवाको क्षेत्रभित्र बैङ्कहरुलाई पनि राखेको छ । तर, बैङ्कका कर्मचारीहरुले कार्यालय र घरमा आवत–जावत गर्ने क्रममा परिचयपत्र देखाउँदा पनि प्रहरीबाट रोकावट हुने गरेको गुनासो गरेका छन् ।

प्रहरीको भनाइचाहिँ के छ भने बैङ्कको परिचयपत्र मात्रै देखाएर पुग्दैन, सवारी पास देखाउनुपर्छ ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैङ्कर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकको परिचय देखाउँदा पनि प्रहरीले रोक्ने गरेको बताए ।

बिहान कार्यालय हिँड्दा र साँझ कार्यालयबाट घर फर्कंदा बैङ्कका कर्मचारीहरुलाई प्रहरीले रोक्ने गरेको शर्माले अनलाइनखबरलाई बताए ।

अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रका कर्मचारीहरुमा जोर–बिजोर प्रणाली लागु नहुने गृहमन्त्रालयकै परिपत्र भएकाले बैङ्कको परिचय पत्र देखाएपछि छाड्नुपर्नेमा ट्राफिक प्रहरीले नछाडेको उनको गुनासो छ ।

बरु बैङ्किङ क्षेत्रमा पनि जोर–बिजोरको नियम लागु हुन्छ भनिएको भए कर्मचारीहरुले अर्कै व्यवस्था गर्ने उनी बताउँछन् । सरकारको निर्णय स्पष्ट नआउँदा बैङ्कका कर्मचारीहरुमा अन्योल बढेको शर्माको भनाइ छ ।

परिचयपत्रले पुग्दैन, पास देखाउनुपर्छ : ट्राफिक प्रहरी

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले बैङ्कको गाडीमा ब्यानरसहित हिँडेकोलाई नरोकिएको बताए । तर, केही कर्मचारीहरु जोर–बिजोर नम्बरको नियम विपरित मोटरसाइकलमा हिँडेका र कार्यालय नै हिँडेको भन्ने पुष्टि हुन नसकेका कारण रोक्ने गरिएको उनले बताए ।

‘गृहमन्त्रालय अथवा काठमाडौं, भक्तपुर वा ललितपुरको पास बनाएर हिँड्यो भने रोक्ने कुरा नै हुँदैन’ गौतमले भने, ‘पास पनि बोकेको छैन, अब त्यसै जोरबिजोरको ख्याल नगरी हिँडेको पाइएपछि त रोक्नै पर्‍यो ।’

प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले कानून बनाउने निकायमा समन्वय गरेर पास बनाएर ल्याउन उनले बैङ्कका कर्मचारीहरुलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment