 
																			२५, साउन, चितवन । चितवनमा शनिबार गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
संक्रमित हुनेमा बैंकका कर्मचारीदेखि प्रहरी र थुनवासमेत थिए । उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गर्ने र आइतबार नै परीक्षण गर्नुपर्ने दवावमा प्रशासन थियो । तर, भरतपुर कोभिड ल्याबका प्राविधिकहरुको असहयोगका कारणले संकलन गरिएको स्वाब पनि परीक्षण हुन पाएन । प्राविधिकहरुले ल्याब बन्द गरे ।
आइतबार कन्ट्याक्ट ट्रेसिङ गरेर संकलन गरिएका स्वाब ५४ र अन्य करिब एक सय गरी १५४ भन्दा बढी स्वाबको परीक्षण हुन पाएन । भरतपुर कोभिड ल्याबकी प्रमुख डा. नितु अधिकारीले हप्तामा एकदिन बन्द गरेर निर्मलीकरण गर्नुपर्ने बताइन् । देशका अन्य क्षेत्रका ल्याब पनि हप्तामा एक दिन बन्द भएका छन् त भन्ने प्रश्नमा उनले सबै ल्याबहरु एक दिन बन्द हुने जिकिर गरिन् । डा. अधिकारीले यसो भने पनि कर्मचारीले प्रोत्साहन भत्ता नपाएको विरोधमा बन्द गरेको स्रोत बताउँछ ।
संकटको बेलामा अब्ठ्यारो पार्ने गरी ल्याब बन्द गराउँदा सिल गरिएका राष्ट्रिय बाणिज्य बैक, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष र जिल्ला ट्राफिक प्रहरी कार्यालय थप एकदिन ढिलो मात्रै खुल्ने भएका छन् ।
आइतबार नै परीक्षण गर्न सकेको भए, सोमबारसम्म त कार्यालय खुल्न सक्थेँ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले सोमबारबाट काम नगरे प्राविधिक कर्मचारीको विकल्प खोजिने बताए ।
उनले भने, ‘कोभिड ल्याबका प्राविधिकले मात्रै होन भरतपुर अस्पतालका चिकित्सक र नर्सहरुले पनि प्रोत्साहन भत्ता पाएका छैनन्, तर यहाँ त कसैले काम छाडेको छैन, मैले मन्त्रालयसँग समवन्य गरेको छु, भत्ता आउँदैछ दिन्छु भन्दा भन्दै आफुखुसी ल्याब बन्द गराउनु त भएन नि ।’
आइतबार एक बजेबाट ल्याव खोलेर परीक्षण थाल्न भने पनि प्राविधिकहरुले अटेरी गरेको मेसु डा. तिवारीको भनाइ छ । उनले सोमवार विहान ७ बजेदेखि राति अबेरसम्म ल्याबमा परीक्षण गरिने बताए ।
प्रजिअको आक्रोश : संकटमा निहुँ खोजे फायर गर्छौं
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आइतबार ल्याब बन्द गरिएको प्रति आक्रोश पोखे । यत्तिका मान्छे कन्ट्याक्ट ट्रेसिङ गरिएको छ, रिपोर्ट कहिले आउला भनेर बसेका छन्, सबैलाई तनाव छ, यस्तो बेलामा अनेक कारण देखाउँदै ल्याब बन्द गर्नु सरासर गलत हो’ उनले भने ।
सोमबारदेखि सरासर काम नगरे प्राविधिकहरुलाई फायर गरिने (सेवाबाट हटाउने) उनले चेतावनी दिएका छन् । ‘म र मेरो विकल्प कोही छैन, केही हुँदैन भन्ने कसैले नसोचे हुन्छ, संसारमा हरेक चिजको विकल्प छ’, प्रजिअ भट्टराईले भने ‘संकटको बेलामा यो वा त्यो नाममा निहुँ खोज्नु राम्रो होइन ।’
उनले सोमबार साँझसम्म रिपोर्ट नआए प्रशासन चुप लागेर नबस्ने चेतावनी दिए । ‘उहाँहरुको गुनासाहरु हामीले पनि सुन्दै आएका छौं, लापरवाही पनि भएका छन्, वुधबारको नमुनाको रिपोर्ट शनिवार आएको छ, अप्रेशन गर्नुपर्ने बिरामीको विजोग छ, जानीबुझीकन परीक्षणको दर घटाइएको छ’ प्रजिअ भट्टराईले भने ।
समुदायमा पनि गएर नमूना संकलन गर्न र परीक्षणको दायरा फराकिलो बनाउन भरतपुर अस्पतालका मेसु र स्वास्थ्य कार्यालय भरतपुरका प्रमुखलाई निर्देशन दिइएको प्रजिअ भट्टराईले बताए ।
भरतपुर कोभिड ल्याबमा भरतपुर अस्पतालका चार, जनस्वास्थ्यका एक र क्यान्सर अस्पतालका दुई जना प्राविधिक र तीन जना सहयोगीले काम गरिरहेका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4