Comments Add Comment

एकजना कोरोना संक्रमित भेटिएपछि इच्छाकामना गाउँपालिका सिल

२८ साउन, चितवन । एकजना कोरोना संक्रमित भेटिएपछि चितवनको इच्छाकामना गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको आकस्मिक बैठकले बुधबारदेखि एक सातासम्म गाउँपालिका क्षेत्र सिल गरेको हो ।

भरतपुरको मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका-५ की ७८ वर्षकी एक वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत सुकदेव लम्सालले समुदायस्तरमा संक्रमण फैलिन नदिन एक साता सिल गरेर पूर्व सावधानी अपनाइएको हो ।

‘बिरामीलाई भेट्न गएका व्यक्ति गाउँमा आएर बैठकतिर पनि गएको देखियो । मुग्लिन, फिस्लिङ, कुरिनटार लगायतका क्षेत्रमा पनि संक्रमण फैलिएको छ की भन्ने देखिएकोले सिल गरेका हौं,’ प्रमुख प्रशासकिय अधिकृत लम्सालले भने ।

गाउँपालिकाले मुग्लिन नारायणगढ सडकखण्ड र पृथ्वी राजमार्गमा भने सवारी साधन रोक्न नपाउने गरी सञ्चालन हुन दिने बताएको छ । तर, स्थानीय रुटका सवारी भने एक साताका लागि बन्द नै भएका छन् ।

गाउँपालिकाले मातहतमा रहेको सरकारी कार्यालय एक हप्ताको लागि बन्द गर्ने, राजमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट पूर्ण रुपमा बन्द गर्ने, खाद्यान्न तथा अत्यावस्यक सामग्री बिक्री गर्ने पसलहरु हरेक दिन बिहान ७ बजे देखि १० बजेसम्म तीन घण्टा सुरक्षित विधि अपनाएर खोल्न दिने निर्णय गरेको छ ।

‘एक साताको अवधिमा आशंका गरिएको व्यक्तिहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाउँछौं,’ उनले भने, ‘त्यसपछि के कस्तो रिजल्ट आउँछ हेरौं ।’ वडा नम्बर ५ बाट भने श‌ंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइ सकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment