Comments Add Comment

बस्नेत परिवारले स्वाब दिन मानेन, बाह्रविसे बजार सिल

२८ साउन, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको ८४ वर्षीय खड्गबहादुर बस्नेतका परिवारले पीसीआर परीक्षणका लागि स्वाब दिन अस्वीकार गरेको छ ।

मृत्यु भएको ५ दिनपछि कोरोना संक्रमण भएको रिपोर्ट आएपछि परिवारका सदस्यहरुको स्वाब संकलनका लागि बुधबार जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली बस्नेतको घर पुगेको थियो ।

तर मृतकका परिवारले स्वाब दिन अस्वीकार गरेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत होमनाथ लामिछानेले बताए । लामिछानेका अनुसार मृत्यु संस्कार र अन्य कारणले तत्काल स्वाब दिन नसकिने बताएपछि टोली त्यतिकै फर्किएको हो ।

‘मृतकका परिवार र मृत्युपछि शव उठाउने, बोक्ने र अन्त्येष्टिमा सहभागी पुरोहितसहित ३५ जनाको स्वाब संकलन गर्ने लक्ष्यसहित स्वास्थ्यकर्मीको टोली बाह्रबिसे पुगेको थियो । तर आफन्तले स्वाब दिन अस्वीकार गरे,’ लामिछानेले भने, ‘त्यसपछि शव उठाउने, बोक्ने र अन्त्येष्टिको क्रममा सहभागी पुरोहितसहित २१ जनाले भने स्वाब दिएका छन् ।’

लामिछानेका अनुसार मृतकका छोरा एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले आफूहरुबारे झूटो प्रचारबाजी गरेको गुनासो गरे । ‘मृत्यु भएकै दिन बुबाको शव उठाउन अस्पतालले दबाब दिएको थियो । तर हामीले भोलिपल्ट मात्रै बुबाकै इच्छा अनुसार शवलाई राजधानीबाट बाह्रबिसे ल्याएर अन्त्येष्टि गरेका हौं । तर अस्पतालले शव लैजान मृतकको परिवारले जबरजस्ती गरेको भन्दै सञ्चार माध्यममा झूटो प्रचार गरेको छ’ बस्नेतले भने, ‘अस्पतालले यो सच्याउनु जरुरी छ ।’

त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले गत साउन २२ गते उनलाई मृत घोषणा गरेको थियो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका थिए ।

बस्नेतका अनुसार अपरेशन गर्नुअघि पीसीआर टेष्ट गर्दा पनि रिपोर्ट नेगेटिभ आएको थियो । तर मृत्युपछि स्वाब संकलन गरियो र पाँच दिनपछि मंगलबार आएको रिपोर्ट पोजिटिभ रह्यो ।

मृतक खड्गबहादुरको अन्त्येष्टिमा आफन्त, शुभेच्छुक र स्थानीय गरी ५००भन्दा बढी मलामीका रुपमा उपस्थित भएका थिए ।

बाह्रबिसे बजार सिल

यसैबीच खड्गबहादुरको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको भन्दै बाह्रबिसे नगरपालिकाले बजार सिल गरेको छ ।

नगरपालिकाकी उपमेयर शुशीला पाख्रीनले जारी गरेको सूचनामा भनिएको छ, ‘नगरपालिकाको पूर्वको वडा नम्बर ४, वडानम्बर २ को कर्थली, बुदेपा, उत्तरमा वडा नम्बर ३ खाक्दल खोला, पश्चिम वडा नम्बर ९ को राम्चे बजार क्षेत्र र दक्षिणतर्फ शारदा मावि क्षेत्र सुनकोशी बजारको सीमानासम्मको चार किल्लाभित्र मानिसहरु आवतजावत गर्न, सवारी साधन चलाउन पूर्ण रुपमा निषेध गरिएको छ ।’

अर्को सूचना प्रकाशित नहुँदासम्म व्यापार, व्यवसाय लगायत अन्य क्रियाकलाप बन्द गर्न समेत सूचनामार्फत आग्रह गरिएको छ । वृद्धको अन्त्येष्टिमा सहभागी भएका र आसपासका सबै नागरिकलाई आ–आफ्नो घरमै क्वारेन्टिनमा बसेर सहयोग गर्न समेत सूचनामार्फत सबैमा अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment