Comments Add Comment

चराको गुँड बचाउन एक महिनासम्म ‘लोडसेडिङ’

तपाईं हाम्रो गाउँ सहरमा चराचुरुंगीको संरक्षणमा कत्तिको ध्यान पुगेको छ ? वास्तवमा पक्षी संरक्षणमा आम चासो खासै देखिँदैन हामीकहाँ । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा एक जोडी चरा र उसको गुँडमा रहेका अण्डा जोगाउनका लागि ३५ दिनसम्म सडकका बत्ति बालिएन ।

समाचार अनुसार तमिलनाडुको शिवगंगा जिल्लास्थित पोथाकुँडी गाउँका मानिसहरुले एउटा चरा र उसका बचेराहरुकै कारण ३५ दिनसम्म गाउँको सडकमा रहेका पोलका बत्तीहरु बालेनन् र रातको समयमा बाटोघाटो अन्धकार बनाए ।

समाचार अनुसार गाउँको सडकबत्तीहरु बाल्ने स्विच रहेको स्विचबोर्डमा एक जोडी चराले गुँड बनायो र त्यसमा अण्डा पार्‍यो । एकदिन जब गाउँका एक व्यक्ति बेलुकीको समयमा सडक बत्तीको स्विच अन गर्न त्यहाँ पुगे तब उनले स्विचबोर्डमाथि चराले गुँड बनाएर अण्डा पारेको देखे । बत्ती बाल्नका लागि स्विच बोर्ड खोलेर स्विच अन गर्दा गुँड भत्किएर अण्डा फुट्ने जोखिम थियो ।

उक्त स्विचबाट गाउँका सडक किनाराका पोलमा रहेका ३५ वटा सडक बत्ती बल्दथे । तर जब स्विचबोर्डमाथि चराले गुँड लगाएर अण्डा पारेको देखेपछि बत्ती बाल्न पुगेका ती मानिस बिलखबन्दमा परे ।

हरेक बेलुकी स्विच अन गर्ने र बिहान स्विच अफ गर्ने ड्युटी रहेका करुप्पुराजा नामका ती व्यक्तिले स्विचबोर्डमाथि चराले लगाएको गुँड र त्यसमा पारेका अण्डाकेा फोटो खिचेर तत्कालै गाउँका सबै घरधुरीका मूलीहरु ह्वाट्सएप ग्रुपमा शेयर गरे । त्यसपछि गाउँको पञ्चायत बस्यो । पञ्चायतले चराको गुँड बचाउने निर्णय गर्दै चराले अण्डा कोरलेर बचेरा नउडाएसम्म गाउँका सडक बत्ती नबालिने फैसला गर्‍यो ।

चराले उक्त गुँडका बच्चा कोरलेर उडाउनका लागि पूरै ३५ दिन लाग्यो । जसका कारण पोथाकुँडी गाउँमा ३५ दिनसम्म सडक बत्ती बलेनन् अर्थात् सडक अन्धकार भयो । चराले बचेरा उडाएपछि मात्रै स्विचबोर्ड खोलेर स्विच अन गरियो र सडक बत्ती बाल्न थालिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment