Comments Add Comment

केपी ओलीले तोकेको पाँचदिने ‘काउन्ट डाउन’ सुरु !

२९ साउन, काठमाडौं । असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि विभाजनको डिलमा पुगेको सत्तारुढ नेकपाको विवाद मिलाउन दुई अध्यक्ष पुनःवार्तामा बसेका हुन् ।

प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजनसँगको अन्तर्वार्तामा पाँच दिनभित्रै नेकपाको संकट समाधान हुने बताएका थिए । त्यसको भोलिपल्टै दुई अध्यक्ष र सहयोगी नेताहरुसहितको वार्तामा समाधानका विकल्पमाथि छलफल सुरु भएको हो ।

नौ दिनपछि संवादमा जुटेका ओली र प्रचण्डसँगको छलफलमा महासचिव विष्णु पौडेलसहित स्थायी कमिटी सदस्यद्धय शंकर पोखरेल र जनार्दन शर्मासमेत सहभागी रहेकाले मध्यमार्गी निकास आउने अपेक्षा नेताहरुले गरेका छन् ।

यसबीचमा ओली र प्रचण्डबीच झलनाथ खनाल तथा सुवास नेम्वाङलाई समेत राखेर छलफल भएको थियो ।

नेकपाका एक प्रभावशाली नेताका अनुसार अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेर चैतमा महाधिवेशन गर्ने गरी समाधान खोजिँदैछ । दुवै अध्यक्षलाई संयोजक बनाएर महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने वा एकजनालाई मात्र संयोजक बनाउने भन्नेमा बहस चलिरहेको छ ।

स्रोतका अनुसार महाधिवेशन आयोजक समितिको संयोजकमा झलनाथ खनाल र वामदेव गौतमको नाममा समेत छलफल भएको छ । महाधिवेशन आयोजक समिति गठन गरेर अहिलेको संकट समाधान खोज्नेबारे छलफल शुरु भए पनि त्यसको ठोस प्रस्ताब बनि नसकेको बालुवाटार वार्तामा सहभागी एक नेताले बताए ।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई एक पद छाड्न दबाब दिइरहेको छ । उनीहरुले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा नदिए पार्टीको बहुमतले गरेको निर्णय मान्नुपर्ने दबाब पनि दिइरहेका छन् । यही कारण प्रधानमन्त्री ओली बैठकमै जान छाडेपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ ।

नेकपाका मध्यमार्गी नेताहरुको पहलमा दुई अध्यक्षबीच समझदारीको प्रयास भइरहेको र पार्टीका अन्य बरिष्ठ नेताहरुलाई समेत सहमतिमा ल्याएर पार्टी एकता जोगाउने पहल गरिएको त्यसमा संलग्न एक स्थायी कमिटी सदस्यले बताए ।

दुवै अध्यक्षबीच संवादका रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको अहिलेको गतिरोधको निकास दुई अध्यक्षले दिने भन्दै अब त्यसको निणर्ायक छलफल शुरु भएको बताए । उनले जे विषयमा सहमति हुने हो, दुई अध्यक्षले नै गर्ने भएकाले सबै विकल्पहरु अध्यक्षहरुलाई नै जिम्मा दिइएको बताए ।

उनले भने, मैले हिजो अस्ति नै भनेको थिएँ, अब दुई अध्यक्षबीच संवादको परिपक्व अवस्था बनेको छ । नभन्दै आजबाट त्यसको शुरुवात भयो । हिजो एक अध्यक्षले समय नै तोकिसक्नुभएको छ, केपी कमरेडले भनेपछि त बुझ्नुपर्‍यो कि अब नेकपाको गतिरोध सकिन्छ । के विषयमा सहमति हुन्छ भन्ने चाहिँ उहाँहरुलाईनै छाडेका छौं ।’

प्रचण्ड-माधव पक्षका नेताहरुचाहिँ अहिलेको गत्यावरोध प्रधानमन्त्री ओलीकै कारणले सिर्जना भएको बताउँदै निकासको प्रस्ताव पनि ओलीबाटै आउनुपर्ने बताउँछन् ।

प्रधानमन्त्रीले दुबै पद नछाड्ने र महाधिवेशन आयोजक समिति बनाएर जाऔं भन्ने प्रस्ताव ओली समूहले ल्याएको संस्थापन इत्तर पक्षका नेताहरुको भनाइ छ ।

तर, प्रधानमन्त्री ओलीले भनेजस्तै अजको पाँच दिनमै नेकपाको विवाद समाधान होला त ? यसको ‘काउन्ट डाउन’ आजैबाट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment