+
+

विदेशमा अप्ठेरामा परेका नेपालीको अधिकार संरक्षण गर : मानव अधिकार आयोग

रासस रासस
२०७७ साउन २९ गते १५:४९

२९ साउन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारको अधिकार संरक्षण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

‘कोभिड–१९ महामारीको चपेटामा नेपाली आप्रवासी श्रमिकको अधिकार’ सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले गन्तव्य मुलुकमा एकतर्फी करार भङ्ग गर्ने, बेतलबी बिदामा बस्न बाध्य पार्ने तथा कामबाट निष्कासन गर्नेलगायतका गैरकानूनी काम रोक्न कूटनीतिक पहल गर्न पनि आग्रह गरेको छ ।

काम गरेको अवधिको पूरा तलब/सुविधा र भुक्तानी नदिने, जबर्जस्ती श्रमबाट निकाल्ने, मापदण्डभन्दा अधिक समय वा जोखिमयुक्त अवस्थामा काम गराउनेजस्ता श्रम अधिकार हननबाट नेपाली श्रमिकलाई संरक्षण गर्न पनि आयोगले सुझाव दिएको छ ।

हाल कार्यरत देशमा मानव अधिकार र श्रम अधिकार हननमा पारिएका तर स्वदेश फिर्तीका लागि हवाई टिकटलगायत खर्च आफैँले व्यहोर्नुपर्ने आप्रवासी नेपाली श्रमिकको सो खर्च शोधभर्ना दिलाउने व्यवस्था गर्न पनि आयोगले सिफारिश गरेको छ ।

गन्तव्य देशमा तलब तथा पाउनु पर्ने भुक्तानी नपाएका, रोजगारीबाट निष्काशन गरिएका, बेतलवी बिदामा पठाइएका र स्वदेश फिर्तीको हवाई टिकट नदिइएका नेपाली श्रमिकहको न्यायमा पहुँच तथा क्षतिपूर्तिको सुनिश्चितता गर्न गन्तव्य देशका सरकार, रोजगारदाता र नेपालस्थित श्रमिक भर्ना गर्ने निजी संस्थालाई पनि जिम्मेवार बनाउन अध्ययन प्रतिवेदनमा सिफारिश गरिएको छ ।

त्यसका लागि आवश्यकतानुसार उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्ने, विदेशमा रोजगारी र आम्दानी गुमाई स्वदेश फर्किनुपरेका तर गन्तव्य देशको रोजगारदाता वा सरकारले क्षतिपूर्ति उपलब्ध नगराएका नेपालीको हकमा निश्चित मापदण्ड बनाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

गन्तव्य देशमा कोरोना सङ्क्रमितलगायत अन्य कारणबाट रोजगारी गुमाएका नेपाली श्रमिकले स्वेच्छाले रोजगारीलाई निरन्तरता दिन चाहेमा उनीहरुको स्वास्थ्य र श्रम अधिकारका मामलामा कुनै जोखिम नहुने गरी आवश्यक सहजीकरण गर्न पनि सिफरिश गरिएको छ ।

स्वदेश फर्कन पर्ने तथा चाहनेमध्ये विशेष अवस्था र जोखिममा रहेकालाई वस्तुगत आधारमा प्राथमिकता निर्धारण गर्न तथा उनीहरुलाई तत्काल नेपाल फर्काउने व्यवस्था मिलाउन पनि सुझाव दिइएको छ ।

बेखर्ची, रोजगारदाताले हवाई टिकट उपलब्ध नगराएका र कागजातविहीन आप्रवासी नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय हवाई भाडा, यातायात तथा खाना खर्च र यात्राका क्रममा आवश्यक खानेपानी, खाना, आवास आदिको व्यवस्था गर्न पनि सिफारिश गरेको छ ।

करार अवधि बाँकी नै रहेको तर आफूलाई सङ्क्रमण वा अन्य ज्यादतीको जोखिम हुने करार भङ्ग गरी स्वदेश फर्कन चाहनेको अधिकार संरक्षण गर्ने, भारतमा अलपत्र परेका नेपाली श्रमिकलाई अविलम्ब स्वदेश फिर्तीको व्यवस्था मिलाउन पनि सुझाव दिएको छ ।

गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारको इच्छा अनुसार शव सम्मानपूर्वक नेपाल ल्याई उनीहरुको रीतिरिवाजअनुसार अन्त्येष्टि तथा मृत्यु संस्कार गर्न दिन पनि आयोगले आग्रह गरेको छ ।

स्वदेश फर्किएका श्रमिकप्रति हुन सक्ने हेँला, बहिष्करण, अपहेलना, विभेद र दुव्र्यवहार जस्ता व्यवहारबाट संरक्षण गर्न समुदायस्तरसम्मका निकायलाई जिम्मेवार गराउने र त्यस्ता ज्यादतीमा परेकाको कानूनी अधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाउन पनि आयोगले सुझाव दिएको छ ।

कोभिड–१९ को प्रभावका कारण रोजगारी र आम्दानी गुमाएका तथा ऋणको चङ्गुलमा परेका श्रमिक र तिनका परिवारको पहिचान गरी विशेष आर्थिक राहत तथा पुनः स्थापनाका कार्यक्रम तर्जुमा गरी त्यसमा उनीहरूको सहज पहुँच सुनिश्चित गर्न प्रतिवेदनमा औँल्याइएको छ ।

कोभिड–१९ सिर्जित सङ्कटपश्चात् आप्रवासी नेपाली कामदारमा परेका र पर्न सक्ने प्रभावका विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराउन तथा उनीहरूको संरक्षण, पुनःस्थापना र पुनःएकीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतिवेदन सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?