Comments Add Comment

कोरोनाबाट थप चार जनाको मृत्यु, ५२५ संक्रमित थपिए

Photo Credit : फाइल फोटो

२९ साउन, काठमाडौं । कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५२५ जना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९८ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।

थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट बाराको दुई तथा धनुषा र अछामका एकएक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । ४/५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएका उनलार्इ बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि नेशनल मेडिकल कलेज पुगेका उनको मध्यान्ह नारायणी अस्पतलमा रिफर गरिएको थियो ।

भेन्टिलेटरमा उपचाररत उनको बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको छ ।

अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा भने बाराका २ र वीरगञ्जमा मृत भेटिएका बारा बिश्रामपुरका ३८ वर्षीय पुरुषको तथ्यांक समावेश छैन ।

कहाँ कति भेटिए संक्रमित ?

मन्त्रालयका अनुसार देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना छन् ।

यस्तै मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०/०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३/३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २/२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १/१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment