Comments Add Comment

भरतपुर महानगरमा एकसाता लकडाउन

३० साउन, चितवन । चितवनका स्थानीय तहहरुले कोरोना भाइरसको संक्रमण समुदायमा फैलिन थालेको भन्दै धमाधम सिल गर्न थालेका छन् । एक ७८ वर्षीया वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बुधबारबाट जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनाले एकसाताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । यस्तै, भरतपुर महानगरपालिकाले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी एकसाता लकडाउन गर्ने निर्णय गरेको छ ।

शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी लगायत सरोकारवाला निकायको बैठकले महानगरपालिका क्षेत्रभित्र कोरोना संक्रमण फैलिन थालेकोले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

भरतपुरमा बिहीबार मात्रै ९ जना संक्रमित थपिएका थिए । भरतपुर अस्पतलाको आकस्मिक कक्षकी नर्ससहित ९ जना उपचारका लागि आएका बिरामीमा स‌ंक्रमण पुष्टि भएको थियो । महानगरमा हालसम्म ७० जना पुरुष र २३ महिला गरी ९३ जना संक्रमित भएका छन् ।

महानगरका अनुसार लकडाउनको समयमा महानगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सार्वजनिक यातायात, बजार, होटलहरु पूर्णरूपमा ठप्प हुनेछन् । उद्योग तथा कलकारखानाहरू सञ्चालनमा निश्चित शर्त तथा मापदण्डको पालना गरिनेछ ।

जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि बिहीबार एक सूचना जारी गर्दै भदौ १५ गतेसम्म छोटो दुरीका यात्रुबाहक सवारी साधन पनि सञ्चालन नगर्न निर्देशन दिएको थियो । तर, सडकमा भाडाका सार्वजनिक सवारी साधान भने गुडिरहेका छन् ।

प्रशासनले जिल्लामा सिनेमा हल, पार्टी प्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जीमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, अटो रिक्सा र साइकलमा व्यापार, व्यवसाय नगर्न निर्देशन दिँदै आएको छ । तर यसको पूर्णपालना र अनुगमन हुन सकेको छैन । प्रशासनले जिल्लाभर नै लागु हुने गरी साउन २५ गतेदेखि रातीमा हिँडडुल गर्न रोक लगाएको छ । रातको समयमा मानिसहरु लुकिछिपी जिल्ला प्रवेश गरेको र संक्रमण फैलाउन मद्धत गरेको हुनसक्ने आशंकामा प्रशासनले रातको समयमा आवतजावतमा पूर्ण रुपमा रोक लगाएको थियो ।

माडी प्रवेशमा रोक

संक्रमण बढ्न र फैंलिन नदिन चितवनको माडी नगरपालिका क्षेत्र पनि एक साताका लागि सिल हुने भएको छ ।

माडी नगरपालिकाले साउन ३१ गतेबाट एक साताका लागि माडी नगरपालिका प्रवेशमा रोक लगाएको छ । भरतपुरबाट माडी र माडीबाट भरतपुर तथा पर्साको ठोरीबाट माडी र माडीबाट ठोरी जान रोक लगाइएको हो ।

भरतपुरबाट जानेलाई बगई पोष्टमा र ठोरीतिर जाने आउनेलाई अमुवा पोष्टमा रोक्ने गरिएको छ । तिजको समयमा बढी मानिसको आवतजावत हुने भएकोले सोही समयलाई लक्षित गरे प्रवेश रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment