Comments Add Comment

हेटौंडामा आइसोलेसनमा भन्दा दोब्बर संक्रमित घरमै

३० हेटौंडा, साउन । बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसन कक्षको अभाव हुँदा संक्रमण पुष्टि भएकाहरु घरमै बसेका छन् ।

हेटौंडामा सञ्चालन भएको आइसोलेसन वार्डमा बेडको अभाव भएपछि ६० जना बिरामी होम आइसोलेसनमा छन् । कर्राको श्रमिक माविमा सञ्चालन भएको आइसोलेसनमा ३५ वटा मात्र बेड छ । यस हिसाबले आइसोलेसनमा भन्दा झण्डै दोब्बर संख्यामा संक्रमितहरु घरमा छन् ।

आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौलागाईंका अनुसार अहिलेकै अनुपातमा बिरामी बढ्ने र निको हुनेको संख्या कम भएमा भयावह अवस्था आउने बताए ।

अहिले हेटौंडामा होम आइसोलेसनमा बस्नेहरु धेरैजसो बेड नपाउनेहरु नै छन्, केही व्यक्ति स्वेच्छाले बसेका छन् ।

घरमा रहेका बिरामीले चिकित्सकको सम्पर्कमा रहेर नियमित औषधि सेवन गरिरहेको उनले बताए । जिल्लामा १ सय ५४ जना कोरोना संक्रमितको संख्या पुग्दा हेटौंडामा मात्रै ८९ जना रहेका छन् । ३५ बेड क्षमताको आइसालेसनमा हाल ३९ जना बसिरहेका छन् ।

आइसोलेसनमा साँघुरो भवन, अव्यवस्थित शौचालयका कारण समस्या भएको त्यहाँ रहेका हेटौंडा—८ का एक युवकले बताए । ‘यहाँ भएकै मान्छेको व्यवस्थापन गर्न सकेको छैन, थप मान्छे ल्याएर जोखिम मात्र बढाउने काम हुन्छ ।’

स्थानीय स्वास्थ्यकर्मी उत्सव चौलागाईले कमजोर तयारीका कारण समुदायमा तीब्र गतिमा कोरोना संक्रमण फैलदै गएको बताए ।

हेटौंडा—१६ स्थित गौरीटार रंगशालामा निर्माण भएको छात्रबासमा १३० बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी थालिएको छ । शिक्षा मन्त्रालयले विद्यालयमा आइसोलेसन वार्ड नराख्न निर्देशन दिएपनि अन्यत्र ठाउँ पाइएको छैन ।

संक्रमितको संख्यासँगै त्रास बढ्यो

हिजोआज स्वाब परीक्षणको सिफारिस लिन २ सय भन्दा धेरै मानिस अस्पताल आउने गरेका छन् ।

हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठ भन्छन् ‘हाम्रो क्षमता भन्दा बढी मानिसहरु कोरोना परीक्षणको लागि सिफारिस लिन आउने गरेका छन्, हामीले नगरी नहुनेहरुलाई मात्र सिफारिस दिएर पठाउने गरेका छौं ।’

स्वास्थ्यकर्मीमा जोखिम बढ्यो

कोरोना परीक्षणको सिफारिस लिन धेरै संख्यामा सर्वसाधारण आउँदा हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी पनि जोखिममा परेका छन् ।

अस्पतालस्थित फिवर क्लिनिकका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि ४ दिनदेखि ८ जना कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुसँगै मंगलबार क्लिनिकमा कार्यरत डाक्टरलाई पनि कोरोना पुष्टि भएपछि फिवर क्लिनिक सञ्चालनमा समस्या भएको छ ।

स्वास्थ्यकर्मीको अभावमा कोरोना संक्रमणको आशंका गरिएका बिरामीको पनि आकस्मिक कक्षमै चेकजाँच गर्नुपरेको अस्पताल ब्यवस्थापनले जनाएको छ ।

‘हामीले २४ सै घण्टा क्लिनिक सञ्चालन गरिरहेका थियौं, स्वास्थ्यकर्मी अभावमा हामीले इमर्जेन्सी कक्षबाटै सेवा दिनु परेको छ’ अस्पतालका मेसु श्रेष्ठले बताए ।

समुदायमा संक्रमण बढेपछि सोमबार राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि मकवानपुर प्रशासनले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कमाण्ड पोष्टका प्रमुख दीपकराज नेपालले आइसोलेन वार्ड सार्ने र संख्या बढाउन पहल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment