Comments Add Comment

नेपालको नयाँ नक्सा अंग्रेजीमा, राष्ट्र संघमा पठाउने बाटो खुल्यो

३० साउन, काठमाडौं । लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ ।

नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण विभागले प्रकाशन गरेको हो ।

सन् १८१६ को सुगौली सन्धि लगायतका तथ्य तथा प्रमाणको आधारमा सरकारले ५ जेठमा लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरू, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् । उनी भन्छिन्, ‘नेपालको अद्यावधिक मानचित्रबारे विश्व जगतलाई जानकारी गराउनु जरुरी छ । त्यही प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरेका हौं ।’

विभागका महानिर्देशक प्रकाश जोशीले अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कुटनीतिक नियोक, समग्र अन्तराष्ट्रिय समुदायमा पठाउने बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने जानकारी दिए ।

सुगौली सन्धिको धारा ५ मा लिम्पियाधुरा मुहान भएको काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । भारतद्वारा प्रकाशित नक्साहरूमा पनि लिम्पयाधुरासम्म नेपाल हो भन्ने स्पष्ट छ ।

लिम्पियाधुरा भन्दा करिब ५० कोश पूर्वमा रहेको कालापानी क्षेत्रमा समेत भारतले आफ्नो सुरक्षाकर्मी राखेको छ । त्यसक्षेत्रमा नेपालको ३९ हजार ५०० हेक्टर भूमि अतिक्रमणमा परेको सीमाविद्हरू बताउँछन् ।

१६ कार्तिक २०७६ मा भारतले कालापानी, लिपुलेक सहितका भूभाग आफ्नोमा पारेर नक्सा निकालेपछि नेपालले त्यसको विरोध गरेको थियो । गत वैशाखमा भारतले नेपाली भूमि हुँदै कैलाश मानसरोवर जाने सडकमार्ग उद्घाटन गर्‍यो ।

नेपालले जारी गरेको नक्साको विरोध गरे पनि सिमा अतिक्रमणबारे नेपालले गरेको वार्तामा बस्ने प्रस्तावलाई भने भारतले अस्विकार गर्दै आएको छ । कालापानी क्षेत्र र सुस्तामा देखिएको सिमा विवादबारे वार्ता गर्न गठित परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक भारतकै कारण बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment