Comments Add Comment

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु पुष्टि, ४६८ संक्रमित थपिए

३१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या १०४ पुगेको छ ।

मृतकमध्ये दुई जना पर्साका छन् भने एक जना कपिलवस्तुका छन् ।

पर्साको वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको शनिबार बिहान ७ बजे बाटोमै मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

उनलाई एक सातादेखि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको, तर समयमै अस्पतालमा नल्याउँदा मृत्यु भएको चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए ।

यस्तै वीरगञ्जकै मुर्लीका ६० वर्षीय पुरुषको शुक्रबार बेलुकी मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि  २४ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका उनी उच्च रक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित थिए ।

शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको आईसीयुमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

४६८ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९८ जना संक्रमित थपिएका छन् ।

उनीहरुमध्ये काठमाडौंमा ८०, ललिपतुरमा ९ र भक्तपुरमा ९ जना छन् ।

यस्तै मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ । काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङ ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहट ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २/२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एकएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पीसीआर टेष्ट ५ लाख नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गरिएको छ । यससँगै नेपालमा पीसीआर टेष्ट ५ लाख ५ हजार ६६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment