Comments Add Comment

कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

३१ साउन, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।वीरगञ्ज-२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

उनलाई एकसातादेखि ज्वरो आउनुका साथै स्वासप्रश्वासमा समस्या देखिएको परिवारजनले बताएका छन् ।

अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले समयमै उपचारका लागि अस्पतालमा नल्याउँदा विरामीको मृत्यु भएको बताए । ‘गाउँकै क्लिनिकमा उपचार गराइरहेका रहेछन् । तीन दिनदेखि स्वासप्रस्वासमा समस्या आएको रहेछ’ डा. सिंहले अनलाइनखबरसँग भने, ‘उपचारका लागि समयमै अस्पताल नल्याउँदा दुर्घटना भयो ।’

मृगौला रोगीले पनि जिते कोरोना

यसैबीच वीरगञ्जमा २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर हस्पिटलमा उपचाररत २९ जना शनिबार डिस्चार्ज भएका हुन् । पर्साका २५ जना, दैलेख, धादिङ, बाँके र झापा घर भई वीरगञ्जमै कार्यरत ४ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

निको हुनेमा नेपाली काँग्रेसका केन्दि्रय सदस्य एवं पूर्वमन्त्री अजयकुमार चौरसिया, वीरगञ्ज महानगरपालिका-४ का वडाध्यक्ष जगत साह कानु, वीरगञ्ज कारागार कार्यलय प्रमुख श्रवण कुमार पोखरेल, वीरगञ्ज महानगरका कर्मचारी पनि छन् ।

संक्रमणमुक्त भएका मध्ये ४ जनालाई रेाडिसिभिर औषधि चलाएर निको पारिएको अस्पताल स्रोतले जनाएको छ ।

पोखरिया र श्रीपुर घर भएका मृगौला रोगी दुई जना महिलाले पनि कोरोनालाई जितेका छन् । उनीहरुलाई हेल्थ केयर अस्पतालमै तीन पटकसम्म डायलायसिस गरिएको थियो ।

संक्रमणमुक्त भएपनि १४ दिन होम क्वारेन्टिन बस्न उनीहरुलाई आग्रह गरिएको चिकित्सकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment