Comments Add Comment

पर्साको पोखरियामा मेयर र मेसुसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

१ भदौ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) अनिल यादवसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेलस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाउँदा आइतबार ३३ जनाको रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

पोखरिया नगरपालिकाका मेयर रौनियारसहित वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । पोखरियाका एक जना पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

यस्तै मेयर रौनियारका परिवारका सदस्यसहित स्वकीय सचिव र सवारी चालक पनि संक्रमित छन् ।  ज्वरो र खोकी लागेपछि मेयर रौनियारले परिवारका सबै सदस्यको समेत पीसीआर परीक्षणका लागि  स्वाब नमुना दिएका थिए । ७ दिनपछि रिपोर्ट आउँदा कोरोना पोजिटिभ आए पनि मेयर रौनियारको ज्वरो र खोकी निको भइसकेको छ ।

पोखरिया अस्पतालका ७ डाक्टरमध्ये मेसुसहित ४ डाक्टर र ४ नर्समध्ये ३ नर्स संक्रमित भएका छन् । यसअघि नै पोखरिया नगरपालिका ४ वडाध्यक्ष, एक डाक्टर, एक नर्स र अन्य ३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको उपप्रमुख सलमा खातुनले जानकारी दिइन् ।

केही दिनअघि १२ सय स्वाब नमुना परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यसको रिपोर्ट आउने क्रम शुरु भएको छ । केही स्वाब नमुना केन्द्रीय प्रयोगशालामा र केही धुलिखेलमा परीक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment