Comments Add Comment

विवाहको दिनको आक्रमण र लान्छना भोगेको दम्पत्तीको पीडा

२ भदौ, काठमाडौं । अफगानिस्तानका मिरवाइज र रेहनाको विवाह भएको एक वर्ष पुग्यो । विवाह वर्षगाठ हरेक दम्पत्तिका लागि खुशीको दिन हुनुपर्ने, तर यो जोडीका लागि सबैभन्दा खराब दिन बन्न पुगेको छ ।

उनीहरुको विवाहमा इस्लामिक स्टेट (आईएस) ले गरेको आत्मघाती विस्फोटबाट विवाह पार्टीमा आएका ९० भन्दा धेरै पाहुनाको मृत्यु भयो । मृत्यु हुनेहरु उनीहरुकै परिवारका सदस्य, आफन्त र नातेदार थिए ।

यो साता उनीहरुको विवाह भएको एक वर्ष पूरा हुँदैछ । १८ वर्षीया रेहनाले त्यो दिन के भएको थियो भन्नेबारेमा सार्वजनिक रुपमा बताउने निधो गरेकी छिन् । उनी त्यस दिनपछिका हरेक रात आफ्ना लागि कठिन बनेको बताउँछिन् । ‘म रुन्थेँ र रातभर निदाउन सक्दिनथेँ’, रेहना भन्छिन् ।

उनलाई मानिसको भीड देख्दा डर लाग्थ्यो । ‘गोली वा विस्फोटको आवाज सुन्दा मलाई त्यही दिनको घटनाको याद आउँछ, फेरि मेरो जीवनमा त्यस्तै घटना हुन्छ कि भनेर डर लाग्छ’ उनी भन्छिन् ।

आक्रमणमा मारिएकाहरुको आफन्तले विवाह हलमै विरोध कार्यक्रम राखेका छन् । जहाँ उनीहरुले न्यायको माग गर्नेछन् भने मृतकप्रति सम्मान व्यक्त गर्नेछन् । यद्यपि यो विरोधसभामा मिरवाइज भने सहभागी हुनेछैनन् । त्यो दिनको घटना सम्झिदैमा हातखुट्टा काप्ने भन्दै सामेल हुने आँट नरहेको उनी बताउँछन् ।

‘विवाहभन्दा अगाडि हामी निकै खुसी थियौँ’, उनले भने, ‘एक्कासी आकाशबाट जमिनमा झरेको जस्तो भयो । हामीले हाम्रो सबै खुसी गुमायौं ।’

उनीहरु शिया मुस्लिम समुदायको भएका कारण विवाहमा विस्फोट गराइएको थियो । शिया मुस्लिम समुदायलाई आईएसले धर्मविरोधी भन्दै आएको छ । पछिल्ला वर्षहरुमा आईएसले शिया समुदाय लक्षित आक्रमण गर्दै आएको छ ।

रेहना र मिरवाइजको चित्त त्यतिबेला दुख्यो, जतिबेला उनीहरुका आफन्त र चिनजानका मानिसहरुले उनीहरुलाई नै यो घटनामा दोषी देखाउन थाले । ‘एकदिन म पसलबाट आइरहेको थिएँ, बाटोमा मैले हाम्रो विवाहमा आफन्त गुमाएकी महिला भेटेँ’, मिरवाइज सझिन्छन्, ‘उनले मलाई हत्यारा भनिन् ।’

यो घटनामा ज्यान गुमाएका केही परिवारले मिरवाइज दम्पत्तिलाई ‘शत्रु’को रुपमा हेर्छन् । त्यही दुव्र्यवहारका कारण मिरवाइजले आफ्नो सिलाइ कटाइ व्यवसाय बन्द गरे ।
यस्ता आक्रमण रेहनामाथि पनि भएका छन् । मानिसहरु उनीहरुको विवाह नभएको भए त्यो आक्रमण हुँदैनथ्यो भन्ने तर्कसमेत गर्छन् । ‘जे भयो, त्यसमा सबैले मलाई दोषी देखाउँछन्’, उनी भन्छिन्, ‘म शान्त रहन्छु र उनीहरुलाई केही पनि भन्दिनँ ।’

आईएसले गत वर्ष भएको यो आक्रमणको जिम्मेवारी लिएको थियो । यो संगठन अफगानिस्तानमा तालिवानको तुलनामा कम शक्तिशाली मानिन्छ । तर, यसले पनि दर्जनौं प्राणघातक आक्रमण गरिसकेको छ ।

गत मे महिनामा काबुलको एक अस्पतालको प्रसुती कक्षमा आईएसले आक्रमण गरेको थियो । यो आक्रमणमा हतियारधारी चरमपन्थीले २४ महिला, बालबालिका र शिशुको हत्या गरेका थिए । आईएसले यस क्षेत्रमा आफ्नो नियन्त्रण गुमाउँदै गएको र वरिष्ठ अधिकारी पक्राउ परेका बेला यो आक्रमण गरेको थियो ।

विस्फोट र आक्रमणका घटना हुँदा रेहना र मिरवाइजलाई विवाहकै दिनको विस्फोटको याद आउँछ । ‘विवाहको केही सातापछि काबुलमा अर्को विष्फोट भयो । मेरी पत्नी निकै डराएकी थिइन् र उनी मुच्र्छित भइन्’, मिरवाइज भन्छन् ।

पिस अफ माइन्ड अफगानिस्तान नामक च्यारिटीको सहयोगमा अहिले रेहना मनोपरामर्श सहायता लिइरहेकी छिन् । उनी थेरापीले आफूलाई विष्फोटको भ्रम र पीडा भुलाउनलाई सहयोग मिलिरहेको बताउँछिन् । ‘यसले कम्तीमा आफूलाई समस्या भन्न सक्ने बनाएको छ’, उनले भनिन् ।

रेहनाकी मनोपरामर्शदाता लीला स्क्वार्जले उनमा अहिले सुधार आइरहेको बताइन् । तर कुनै विस्फोट हुनेबित्तिकै उनको पीडा पुनः शुरु हुने उनको भनाइ छ ।

अफगानिस्तानमा हजारौं मानिसहरुको युद्धको क्रममा मृत्यु हुँदा वा घाइते हुँदा पनि निकै कम मानिसहरु मात्र मनोपरामर्शको लागि पुग्ने गरेका छन् । आधारभूत स्वास्थ्य सेवा पनि नभएको यो मुलुकमा मानसिक स्वास्थ्य खासै प्राथमिकतामा पर्दैन । निजी थेरापी अफगानिस्तानमा महँगो छ । रेहना र मिरवाइजले पनि च्यारिटीले सहयोग नगरेको भए यो थेरापी लिन सक्दैनथे ।

थेरापीको महत्वको विषयमा बोल्दै मिरवाइज भन्छन्, ‘अफगानिस्तानलाई अहिले मानसिक स्वास्थ्यको लागि काम गर्ने धेरै मानिस आवश्यक छ ।’ उनका अनुसार प्रत्येक अफगानीले युद्धको पीडा भोगेका छन् वा आफ्नो परिवारको सदस्य गुमाएका छन् ।

अफगानिस्तानको सरकार र तालिबानको बीचमा आगामी साता शान्तिवार्ता हुन सक्ने अपेक्षा छ । तर, युद्ध जारी नै छ । आईएसले वार्तामा चासो देखाएको छैन । रेहना अफगानिस्तानमा आफू अब सुरक्षित नरहेको बताउँछिन् ।

मनोपरामर्शदाता स्क्वार्ज यो दम्पत्तिलाई केही समय मुलुकभन्दा बाहिर पाठाउनु राम्रो हुने बाताउँछिन् । जसले उनीहरुलाई आत्मघाती विष्फोटबाट टाढा राख्ने र उनीहरुले आफ्नो विवाहमा भोगेको पीडा पनि बिर्सिन सक्ने उनको भनाइ छ । मिरवाइजले पनि अहिले मनोपरामर्श लिइरहेका छन् । तर, उनलाई शान्तिप्रतिको विश्वास भने घटिसकेको छ ।

‘मेरो विवाह हुनुभन्दा पहिला उनीहरु शान्ति आउँदैछ भन्थे । अहिले विवाह भएको पनि एक वर्ष भइसक्यो । खै त शान्ति ?’, उनी प्रश्न गर्छन् । ‘म तपाईंलाई भन्दैछु, अबको १० वर्षपछि पनि तपाईंले अफगानिस्तानमा शान्ति र स्थायित्व देख्नुहुने छैन’, मिरवाइजले भने ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment