
संघीय सांसदहरुले लगाउने लोगोको बिषयमा उठेको सार्वजनिक टिप्पणी केही दिनदेखि जारी छ । यो यति भद्दा छ कि यसका डिजाइनर टेकवीर मुखियालाई नै यसमा चित्त बुझेको छैन । यसबारे अनलाइनखबरको प्रश्नमा मुखियाको जवाफ :
सांसदहरुलाई वितरण गरिएको लोगो हेर्नुभयो ?
हेरेँ ।
तपाईंलाई कस्तो लाग्यो ?
मैले फाइनल डिजाइनसंगै रफ डिजाइन पनि दिएको थिएँ । त्यसमध्ये रफ डिजाइन स्वीकार भएछ । त्यो पनि बच्चालाई बनाउन दिएजस्तो छ ।
सोमबार टीभीमा हेरेपछि फोन गरेर यो त भएन, अर्को बनाउनपर्छ भन्दा उहाँहरुले ‘हामीले मिलाइसक्यौं, अब हुन्छ’ भन्नुभयो ।
मैले डिजाइन पठाएपछि गौतम (संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम) जी र मन्त्री हो कि को हो, उहाँले लोगो कहाँ बनाउँछ पछि सोध्छौं भन्नुभएको थियो, तर सोध्नुभएन । उहाँहरुले कहाँ बनाउनुभयो, कसरी पास गर्नुभयो, त्यो पनि मलाई थाह भएन ।
भनेपछि, तपाईको पनि चित्त बुझेन…
अरे, त्यो त मैले गरेको हुँदै होइन । कसरी चित्त बुझाउने ? यसमा त मेरो कलामाथि घोर अत्याचार भएको छ ।
गल्ती कस्को त ?
जसले काम दियो सबैभन्दा ठूलो गल्ती उहाँको छ, अरुको गल्ती छैन । उहाँले त्यो काम जान्ने मान्छेलाई बनाउन लगाउनुपर्थ्यो ।
अहिले त दुई क्लास पढ्ने बच्चाले गर्ने काम भएको छ । त्यस्तो लोगो पनि पास गर्ने ? जसले पास गर्नुभयो, उहाँकै गल्ती छ, अरुको होइन ।
पारिश्रमिक कति लिनुभएको छ ?
पारिश्रमिक मैले लिएको हो । तर, पैसाका लागि मात्र त्यो काम गरेको होइन । त्यो ५० हजार फिर्ता चाहिन्छ भने दिन्छु ।
प्रतिक्रिया 4