Comments Add Comment

मालीमा सैनिक कू, राष्ट्रपति र प्रधानमन्त्री हिरासतमा

मालीका राष्ट्रपति इब्राहिम बुबाकार केइटा

३ भदौ, काठमाडौं । मालीमा सैनिक ‘कू’ भएको छ । सेनाले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई हिरासतमा लिएर सत्ता हातमा लिएको छ ।

त्यसअघि राष्ट्रपति इब्राहिम बुबाकारले टेलिभिजन सम्बोधन गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । साथै उनले संसद र सरकार भंग गरेको जानकारी पनि दिए ।

सम्बोधन गर्दै राष्ट्रपति बुबाकारले भनेका थिए, ‘म मेरो शासनकालमा रक्तपात होस् भन्ने चाहँदैन । यदि आज हाम्रो सशस्त्र बलका केही व्यक्तिले मेरो शासन अन्त्य गर्न चाहान्छन् भने मसँग अरु विकल्प के हुन्छ ?’

उनले टेलिभिजनमार्फत् सम्बोधन गरेको केही घण्टामै सेनाले राष्ट्रपति बुबाकार र प्रधानमन्त्री बोबु सिसेलाई हिरासतमा लिएको थियो ।

सेनाको यस विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिक एक सैनिक क्याम्पमा गोली चलेको आवाजसँगै सुरु भएको बताइएको छ । बामाकोभन्दा १५ किलोमिटर टाढा रहेको सैनिक क्याम्पमा असन्तुष्ट जुनियर अफिसरहरुले कमाण्डरहरुलाई हिरासतमा लिएका थिए । त्यसपछि उनीहरुले सैनिक क्याम्प कब्जा गरेका थिए । त्यसपछि युवा जमातले शहरका सरकारी भवनहरुमा आगजनी गरेका थिए । साथै राष्ट्रपतिको राजीनामा माग गर्दै उनीहरुले विरोध प्रदर्शन पनि गरे ।

मालीका सैनिकहरुमा जिहादी चरमपन्थीहरुसँग चल्दै आएको संघर्ष र आफ्नो तलब सुविधालाई लिएर लामो समयदेखि असन्तुष्टि छ ।

राष्ट्रपति बुबाकारले सन् २०१८ मा लगातार दोस्रो पटक चुनाव जितेका थिए । तर उनको शासनकालमा भ्रष्टाचार र साम्प्रदायिक हिंसा बढेको भन्दै आलोचित बन्यो । यही कारण मालीमा केही महिनायता विरोध प्रदर्शन चर्किंदै गएको थियो ।

त्यसपछि रुढीवादी इमाम महमुद डिकोको नेतृत्वमा एक नयाँ विपक्षी गठबन्धनको उदय भएको छ । यो गठबन्धनले नयाँ सुधार र मिलीजुली सरकारको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment