News Summary
Generated by OK AI. Editorially reviewed.- मालीको राजधानी बामाको सहित देशका विभिन्न स्थानमा शनिबार बिहानै ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र अन्य क्षेत्रमा आक्रमण गरेको सेनाले जनाएको छ।
- विद्रोही समूह जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीनले मालीको उत्तरी क्षेत्रमा सक्रिय एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको छ।
- मालीको सेनाले बिहान ११ बजेपछि स्थिति नियन्त्रणमा रहेको र विद्रोहीहरूको खोजी कार्य जारी रहेको बताएको छ।
१३ वैशाख, काठमाडौं । मालीको राजधानी बामाको सहित देशका विभिन्न स्थानमा एकैसाथ आक्रमण भएको छ । सैन्य शासन रहेको मालीमा शनिबार बिहानै ‘आतंकवादी समूहहरू’ले सैनिक ब्यारेक र अन्य क्षेत्रमा आक्रमण गरेको सेनाले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान ६ बजेभन्दा केही समयअघि मालीको मुख्य सैन्य आधार ‘काटी’ नजिकै दुईवटा ठूला विस्फोट र निरन्तर गोलाबारीको आवाज सुनिएको थियो । यो सैन्य आधार मालीका सैन्य शासक जनरल आसिमी गोइटाको निवास पनि हो । राष्ट्रपति आसिमी गोइटा हाल कहाँ छन् भन्ने स्पष्ट जानकारी आइसकेको छैन ।
काटीका बासिन्दाहरूका अनुसार रक्षामन्त्री जनरल सादियो कमाराको घरलाई समेत निशाना बनाइएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार कमाराको घरमा क्षति पुगेको छ ।
एएफपीले भने रक्षामन्त्री त्यस समयमा घरमा नरहेको र सुरक्षित रहेको बताएको छ ।
बामाको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि भारी हतियार र स्वचालित राइफलको आवाज सुनिएको थियो, जुन शहरको केन्द्रबाट करिब १५ किलोमिटर टाढा पर्दछ ।
देशका अन्य भागमा अशान्ति
राजधानीमा आक्रमण भएकै समयमा मध्य मालीको सेभारे, उत्तरी शहर किडल र गाओमा पनि यस्तै किसिमको अशान्ति देखिएको अलजजिराले जनाएको छ ।
पश्चिम अफ्रिकाको साहेल क्षेत्रमा सक्रिय एउटा प्रमुख विद्रोही तथा चरमपन्थी समूह ‘जमाअत नुसरत अल–इस्लाम वाल–मुस्लिमीन (जे.एन.आई.एम.)ले एक विज्ञप्ति जारी गर्दै यस आक्रमणमा आफ्नो संलग्नता रहेको जनाएको छ । उसले मालीको उत्तरी क्षेत्रमा सक्रिय अर्को विद्रोही समूह एफ.एल.ए.सँग समन्वय गरेर आक्रमण गरेको पुष्टि गरेको छ ।
उनीहरूले देशका नेता जनरल गोइटा र रक्षामन्त्री कमाराको घर लगायतका सैन्य अखडाहरूलाई निशाना बनाएको बताएका छन् ।
अलजजिराले यस स्तरको समन्वयात्मक आक्रमणलाई ‘अभूतपूर्व’ भन्दै सैन्य पङ्क्तिमा ‘त्रासको वातावरण’ सिर्जना भएको बताएको छ ।
युरोपेली काउन्सिल अन फरेन रिलेसन्सका अफ्रिका निर्देशक एलेक्स वाइन्सका अनुसार मालीका अधिकारीहरू यस लहरको आक्रमणबाट आश्चर्यचकित भएका देखिन्छन् । उनले भनेका छन्, ‘यसले देखाउँछ कि विद्रोही समूहहरू घातक छन् र उनीहरू मालीका अधिकारीहरूलाई कमजोर बनाउन र विभाजित गर्न चाहन्छन् ।’
सन् २०२० र २०२१ को कु (सैन्य विद्रोह) पछि सत्तामा आएका आसिमी गोइटाले सुरक्षा पुन:स्थापना गर्ने वाचा गरे पनि देश अझै सङ्घर्षरत छ । मालीले हाल फ्रान्ससँगको सम्बन्ध तोडेर रुसी ‘अफ्रिका कर्प्स’ (पूर्व वाग्नर समूह) को सहयोग लिइरहेको छ । यद्यपि, रुस–युक्रेन युद्धका कारण केही रुसी सिपाहीहरू मालीबाट फिर्ता बोलाइएकाले सुरक्षा स्थितिमा असर परेको बताइएको छ ।
मालीको सेनाले बिहान ११ बजेपछि स्थिति नियन्त्रणमा रहेको र विद्रोहीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।
प्रतिक्रिया 4