Comments Add Comment

एक किलोमिटर सडक तीन वर्षसम्म पनि कालोपत्रे भएन

३ भदौ, डोटी । झट्ट हेर्दा असारको महिना धान रोप्न सम्याएको गरा जस्तो लाग्छ । तर न यो असारको महिना हो, न त्यो खेत हो । यो सडक हो, यो पनि दिपायल बजारको ।

दिपायल–मौवा सडकको दिपायल सिलगढी नगरपालिका–२ दिपायल खण्ड हो यो । यो सडकमा दिनहुँ दर्जनौं गाडी चल्छन् । तर सडक, सडकजस्तो भने छैन ।

दिपायल पुल बजारदेखि सुरु हुने यो सडक दिपायल सिलगढी नगरपालिकाको वडा नं. २, ३, १, आदर्श गाउँपालिका र सायल गाउँपालिका हुँदै बझाङ्ग जोडिन्छ । जिरो प्वाइण्टदेखि एक किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएको तीन वर्ष पुग्न लाग्दासमेत काम सम्पन्न भएन ।

नेपाल सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरले उक्त सडक कालोपत्रेका लागि २०७४ साल कार्तिक २० गते निर्माण व्यवसायी एमके÷देवसिंह जेभीसंग सम्झौता गरेको थियो । भ्याट सहित एक करोड ४९ लाख ३० हजार ठेक्का सम्झौता रहेको उक्त आयोजना २०७६ साल कार्तिक १९ गते कार्य सम्पन्न भइसक्नु पर्ने थियो । तर झण्डै तोकिएको म्यादभन्दा एक वर्ष थप बित्दासमेत कहिले काम हुने भन्ने अन्यौल छ । हालसम्म करीव ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

सडकले सुविधा दिनुको सट्टा आफूहरुलाई उल्टो दुःख दिएको स्थानीयवासी बताउँछन् । ‘सडकले हाम्रो जीवनमा सुधार ल्याउनु पर्ने हो तर पैदल हिँड्न समेत समस्या परेको छ,’ स्थानीय रतनबहादुर कठायत भन्छन् ‘सडकमा गाडी गुड्दा हिलो उछिट्टिएर घरमै पुग्छ ।’

रतनको जस्तै समस्या पोख्छन् स्थानीय लाल कठायत । उनी भन्छन्, ‘हामीले ठेकेदारलाई र कार्यालयलाई पटक पटक आग्रह गर्यौं कसैले पनि सुन्दैनन्, आज वनाउँछु, भोलि बनाउँछु भन्दाभन्दै दिन बिताइरहेका छन् ।’

काम छिटो हुनु पर्ने भन्दै आफूहरुले पटक पटक सम्वन्धित कार्यालयमा डेलिगेसन दिएको बताउँछन् दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का । उनले भने, ‘हामी जाँदा एक–दुई दिन काम गरेको जस्तो गर्छन्, फेरि थन्किन्छन् ।’

आफूहरुले सडक अवरुद्ध गरेर आन्दोलन गर्ने योजना बनाएको तर कोरोनाको कारण धेरै मान्छे जम्मा हुन नमिल्ने भएका कारण अहिले चुप लागेको स्थानीयहरु बताउँछन् । यदि छिटो काम सम्पन्न भएन भने आफूहरु कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।

कार्यालय भन्छ– ठेकेदारको लापरवाही

ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजपुरको भनाइ छ । ‘हामीले २७/२८ पटक पत्राचार गरिसक्यौ,’ सव–इन्जीनियर अभिषेक मलासीले भने, ‘काम गर्छौं भन्छन् तर आउँदैनन् ।’ पछिल्लो पटक साउन ९ गते फेरि पत्राचार गरेको उनी बताउँछन् । उनले गत वर्ष ०७७ मंसिर २० गतेसम्मका लागि म्याद थप गरिएको बताए । तर यो अवधीमा काम सम्पन्न हुने सम्भावना देखिँदैन ।

ठेकेदार कम्पनीका दुईजना साझेदार बीचमा आपसी ‘लेनदेन’को विवादले काम हुन नसकेको स्थानीयस्तरमा हल्ला छ । देवसिंह निर्माण सेवाको फर्म प्रयोग गरेर हर्क शाह र भुपेन्द्रसिंह धामीले सहकार्यमा काम गर्दछन् । ‘ठेकेदारहरुका बीचमा लेनदेनको विवाद रहेकाले उनीहरुले यो काम लथालिङ्ग पारेका हुन् भन्ने सुनिन्छ,’ स्थानीय लालबहादुर कठायतले भने ।

सव–इन्जिनियर मलासी पनि यस्तै आसय व्यक्त गर्छन् । ‘उनीहरुमा एउटाले पाउने पैसा अर्कैले खर्च गरेको जस्तो छ, त्यसैले समस्या छ,’ मलासीले भने । यो आयोजनामा भ्याटसहित करिब ५० लाख रुपैयाँ भुक्तानी भएको मलासीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment