+
+

भारतमा मोदीको पार्टीसँग फेसबुकको साठगाँठ !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १८:५६

भारतमा आफ्नो व्यापारिक स्वार्थका लागि फेसबुकले भारतीय सत्तारुढ राजनीतिक दलसँग साठगाँठ गरेको आरोप लागेको छ ।

वालस्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा दाबी गरेअनुसार फेसबुकले भारतमा आफ्नो व्यापारिक स्वार्थलाई मध्यनजर गर्दै सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुका घृणा फैलाउने खालका अभिव्यक्तिहरुप्रति समेत नजरअन्दाज गर्ने गरेको छ ।

यस्तो आरोपपछि आलोचना खेपिरहेको फेसबुकले अन्ततः यस विषयमा प्रष्टीकरण दिएको छ । हेट स्पिच अर्थात् घृणा फैलाउने खालका अभिव्यक्तिहरुप्रति आफ्नो नीति स्वतन्त्र रहेको तथा कुनै पार्टी वा विचारधारालाई लिएर कडाई वा नरमपनाको सम्बन्ध नरहेको फेसबुकले स्पष्ट पारेको छ ।

यसैबीच फेसबुकको दक्षिण तथा मध्य एसिया हेर्ने सार्वजनिक नीति निर्देशक अंखी दासले दिल्ली पुलिसको साइबर सेलमा केही व्यक्तिहरु विरुद्ध उजुरी समेत दर्ता गराएका छन् । वाल स्टि्रट जर्नलमा उल्लेखित रिपोर्ट प्रकाशित भएसँगै आफूलाई केही व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएको फेसबुक निर्देशक दासको भनाइ छ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामी घृणा फैलाउने खालका अभिव्यक्तिहरु रोक्छौँ । यस सम्बन्धमा हाम्रो एउटै विश्वव्यापी नीति छ र यसको सम्बन्ध कुनै राजनीतिक दल वा विचारधारासँग छैन । हामीले यस विषयमा अझै धेरै काम गर्नु आवश्यक छ । यस सम्बन्धमा निष्पक्षता तथा निगरानीका लागि हामीले लगातार काम गरिरहेका छौँ ।’

भारतीय जनता पार्टीका कार्यकर्ताहरुमाथि फेसबुकको नियम उल्लंघन गरेको विषयमा कारबाही गरियो भने भारतमा फेसबुकको कारोबारलाई नोक्सान पुग्ने भनी फेसबुकका एक वरिष्ठ अधिकारीले बताएको दाबी वालस्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा गरेको थियो । उक्त रिपोर्टमा उसले फेसबुकमा हाल कार्यरत तथा पूर्व अधिकारीहरुलाई उधृत गर्दै फेसबुकले भारतीय सत्तारुढ दलसँग फाइदाजनक रवैया अपाउने गरेको दाबी गरेको थियो ।

अमेरिकी पत्रिकाको उक्त दाबीपछि सो विषय अहिले भारतमा सत्तारुढ र विपक्षी दलबीचको ताजा विवादको विषय बनिरहेको छ । भाजपा र आरएसएसले जनतालाई गुमराहमा राख्नका लागि फेसबुक र ह्वाट्सएपको माध्यमबाट फेक न्यूज फैलाइरहेको आरोप भारतीय प्रमुख विपक्षी दल कंग्रेसले लगाएको छ । साथै कंग्रेसले उक्त विषयमा फेसबुक कम्पनीको धारणा समेत माग गरेको थियो ।

स्मरण रहोस् सन् २०१८ को आम निर्वाचनअघि भारतमा कंग्रेस र बिजेपी दुवै दलले फेसबुकको चर्चित क्याम्बि्रज एनालिटिका काण्डलाई लिएर आरोप प्रत्यारोपमा उत्रिएका थिए ।

बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिका माथि फेसबुक प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गरी सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनाववमा डोनाल्ड ट्रम्पलाई जिताउन सहयोग गरेको आरोप लागेको थियो ।

उक्त कम्पनीले नै सन् २०१० मा भारतको बिहारमा भएको चुनावमा भारतीय जनता पार्टी, कंग्रेस र जेडीयूलाई सहयोग गरेको खुलासा भएको थियो । यद्यपि त्यस्तो दाबीलाई भारतीय कंग्रेसले अस्वीकार गरेको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?