Comments Add Comment

मदिरा पसल बन्द गराउँदा रंगेलीमा तनाव, सीमा क्षेत्रमा प्रहरीमाथि आक्रमण प्रयास

४ भदौ, विराटनगर । प्रहरीले लकडाउनमा कडाइ गर्न खोज्दा मोरङको रंगेली नगरपालिका–५ आँपगाछी तनावग्रस्त बनेको छ ।

लकडाउनमा खुलेका मदिरा पसल बुधबार राति बन्द गराउँदा स्थानीय व्यवसायी आन्दोलित हुँदै प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । प्रहरीले लाठी चार्ज गरेपछि बुधबार राति ७ बजेदेखि ११ बजेसम्म आँपगाछी तनावग्रस्त बनेको थियो ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाइ गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको थियो ।

प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको थियो । प्रहरीले अनावश्यक लाठी प्रहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयले आँपगाछी प्रहरी चौकी घेराउ गरेका थिए ।

सीमामा प्रहरीमाथि आक्रमण प्रयास

यसैगरी विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबार राति नेपाल र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको छ । सिल भएको नाकाबाट आउजाउ रोक्न खटिएका प्रहरीमाथि नेपाली र भारतीय नागरिक मिलेर आक्रमणको प्रयास गरेका प्रहरीले जनाएको छ ।

बुधबार बेलुका स्थानीयवासी लुकछिपी भारतीय बजार प्रवेश गरेका थिए । ‘भारतबाट सामान लिएर फर्कदै गर्दा प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बन्यो,’ इलाका प्रहरी कार्यालय विराटनगर रानीका प्रहरी निरीक्षक दीपक थापाले भने ।

भारत तर्फबाट ठूलो संख्यामा मानिस नाकामा आएपछि जिल्ला प्रहरी कार्यालयबाट थप टोली मद्दतका लागि पुगेपछि भारतबाट आएकाहरु फर्किएका थिए ।

बुधबार मोरङमा भएका यी दुईवटै घटना नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment