Comments Add Comment

आइसोलेसन सेन्टर बनाउन समुदायकै अवरोध

पुष्पलाल स्मृति पार्कको खाली भवन ।

४ भदौ, बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या करिब ६ सय नजिक पुगिसकेको छ । जिल्लाका १६ मध्ये १३ स्थानीय तहबाट संकलित ७ सय ५१ जनाको स्वाबको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ ।

पछिल्लो समय दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गए पनि समुदायमा आइसोलेसन सेन्टर बनाउन कतै स्थानीय त कतै सार्वजनिक संस्थाले अवरोध गर्दै आएका छन् ।

तीन दिनअघि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वडा नं. २ जङ्गल टोलस्थित बाल बहिरा विद्यालयमा ५० बेडको आइसोलेसन सेन्टर बनाउने तयारी थाल्यो । तर स्थानीयको समूहले रातको समयमा लाठीसहित जुलुस निकालेर विरोध जनाए । त्यसपछि आइसोलेसन बनाउने काम अघि बढ्न सकेको छैन ।

‘बेलैमा पूर्वाधार बनाएर नगरवासीको जीवन रक्षा गर्नुपर्छ भनेर सबैको सुझावमा आइसोलेसन सेन्टर बनाउनुप¥यो भनेको टोलवासी लाठी बोकेर आउनुभयो’–वडा अध्यक्ष दीपक थापाले गुनासो गरे, ‘नगरपालिकाको बोर्डले नै उपयुक्त स्थान भनेर आइसोलेसन बनाउन खोज्दा विरोध मात्र हैन, ममाथि आक्रमण होला भन्ने डर भयो ।’

जीवन रक्षाका लागि आइसोलेसन बनाउन खोज्दा टोलवासीले कोरोना फैलाउन खोजेको जसरी गलत व्याख्या गरेर अवरोध खडा गर्दा पीडा र तनाव भएको वडा अध्यक्ष थापाले गुनासो गरे । केही व्यक्तिले आइसोलेसन सेन्टर बनाउने भए वडाका संक्रमितलाई मात्र राख्नुपर्ने अरु वडाका राख्न नहुने शर्त राखेको उनको भनाइ छ ।

तिलोत्तमा नगरपालिकामा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका ) स्थित पुष्पलाल स्मृति पार्कमा खाली भवनमा नगरपालिकाले २० बेड आइसोलेसन बनाउन माग गरेको थियो ।

तर शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष समेत रहेका पार्क व्यवस्थापन समितिका संयोजक राम गिरीले नगरपालिकाको प्रस्ताव अस्वीकार गरेका छन् । पुष्पलाल स्मृति पार्कमा रहेको भवन हाल सञ्चालनमा रहेको नगरपालिकाको अर्को आइसोलेसन सेन्टरबाट नजिकै रहेकोले व्यवस्थापनमा सहज हुने भएकाले उक्त स्थान प्रस्ताव गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

‘बस्ती भन्दा अलग्गै ठाउँमा रहेको वनभित्रको उपयोगविहीन खाली ठाउँमा समुदायलाई असर नपर्ने र संक्रमण पनि नफैलिने अवस्था हुँदाहुँदै संक्रमितलाई व्यवस्थापन गर्न अवरोध गर्नु नाजायज छ’–घिमिरेले भने–‘उहांहरुले आफै समस्याको गम्भीरतालाई बुझेर निर्णय पुनर्विचार गर्नुपर्छ ।’

पार्कका अध्यक्ष राम गिरीले भने हलमा सामाजिक दूरी कायम गर्दा १० जना जति मात्रै राख्न मिल्ने, शौचालय पनि नभएको र निर्माण पनि पूरा नभएकाले अन्यत्र व्यवस्थापन गर्न नगरपालिकालाई अनुरोध गरिएको बताए ।

तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्य चौकीको भवनमा यसअघि २० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइसकेको छ । अब उक्त पार्कमा २० बेड र त्यसपछि थप आइसोलेसन बेड बनाउने तयारी गरेको प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

बुधबारसम्म तिलोत्तमामा ७० जना र सिद्धार्थनगरमा ७६ जनामा कोरोना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment