+
+
Shares

रासायनिक मल ल्याउन ढिलाइ र अनियमितता गर्नेलाई कारबाही गर : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १५:५८

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले मल आयातमा भइरहेको ढिलाइ र अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट हुने कांग्रेसको भनाइ छ ।

कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्ति जारी गरी सरकारले मल उपलब्ध नगराएर किसानलाई कृषि पेशाप्रति निरुत्साहित पारेको बताएका छन् ।

‘गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र जसको कारण भविष्यमा भोकमरी सिर्जना हुने अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारी, बाढीपहिरो  र डुवानको समस्या झेलिरहेका किसान मल अभावले थप पीडामा परेको भन्दै  कांग्रेसले तत्काल सुलभ रुपमा मल उपलब्ध गराउन  माग गरेको छ ।

‘कृषकहरुको पीडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका लागि सचेत गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?