Comments Add Comment

किसानलाई तत्काल मल देऊ : कांग्रेस सांसद दवाडी

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशसभाका सांसद प्रकाशचन्द्र दवाडीले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

धान रोपाईं सकिएको लामो समय बितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसकेको र तत्काल मल नपाउँदा धानखेती बिग्रने जोखिम रहेको भन्दै उनले मल उपलब्ध गराउन माग गरेका हुन् ।

‘पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा समय गुज्रिसक्दा पनि मल उपलब्ध गराउन नसक्नुले वर्तमान सरकार कृषकप्रति उदासीन रहेको प्रष्ट देख्न सकिन्छ । सरकारको यस प्रकारको क्रियाकलापले कृषकलाई निरुत्साहित गरेको छ’ उनले बिहीबार विज्ञप्तिमार्फत भनेका छन् ।

गरिब किसानले दुःख कष्टका साथ लगाएको धानबाली पहेँलिन थालेको भन्दै सांसद दवाडीले यसले उत्पादनमा ह्रास आउने र भविष्यमा भोकमरीको अवस्था आउन सक्ने खतरा औल्याएका छन्  ।

उनले मल आयातमा पनि कोभिड–१९ का सामाग्री ल्याउँदाजस्तो अनियमितता हुने त होइन भनी प्रश्न गरेका छन् । मल आयातमा भइरहेको ढिलाइ तथा अनियमितताको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नसमेत उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment