
४ भदौ, सुर्खेत । २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै वीरेन्द्रनगरमा सुरु भएको आन्दोलनपछि भदौ ४ गते तत्कालिन राजनीतिक दलले मध्यपश्चिमका जिल्ला समेटेर छुट्टै प्रदेश बनाउने सहमति गरे ।
पछि सोही सहमतिअनुसार संविधानमा ७ प्रदेश रहने र साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुइ जिल्ला समेटेर ६ नम्बर प्रदेशको व्यवस्था भयो । जसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ ।
प्रदेश स्थापनाका लागि भएको आन्दोलन सफल भएको दिनको सम्झनामा प्रदेश सरकारले भदौ ४ गतेलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवसको रुपमा मनाउने गरेको छ । बिहीबार कर्णाली प्रदेशमा सार्वजनिक विदा पनि दिइएको छ ।
अखण्ड मध्यपश्चिमको माग गर्दै भएको उक्त आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाएका थिए ।
कोरोना महामारीका कारण शहीद दिवस तथा प्रदेश स्थापना दिवस सामान्य ढंगले मनाइयो । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा शहीदको सपना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले भने, ‘कोरोनाको महामारीले गर्दा ऐतिहासिक दिनलाई हर्षोल्लासका साथ मनाउन भने सकिएन ।’
शहीद परिवारको गुनासो
प्रदेश सरकार गठन भएको साढे २ बर्ष भइसक्दा पनि आफूहरुको माग पूरा नभएको शहीद परिवारको गुनासो छ । प्रदेश सरकारले भदौ ४ लाई प्रदेश स्थापना दिवसका रूपमा मनाउने निर्णय गरेपनि शहीदको सम्मान नगरेको शहीद यामबहादुर बिसीकी बहिनी भगवती बिसी बताउँछिन् ।
‘आन्दोलनमा हामीले आफन्त गुमायौं तर कर्णाली सरकारले शहीदको सम्मान गर्न सकेन,’ उनले भनिन, ‘शहीद गेट, शालिक निर्माण, शहीदको नाममा चोकहरुको नामाकरण र परिवारलाई रोजगारी दिने मागहरु अझै सम्बोधन भएको छैन ।’
आन्दोलनबाट प्रदेश प्राप्ति भए पनि समृद्ध कर्णालीको सपना भने अधुरै रहेको आन्दोलनमा भाइ गुमाएका जुम्लाका राजबहादुर कुँवरले बताए । ‘शहीदको रगतले भूगोल प्राप्ति भयो तर समृद्धिको सपना अधुरै छ’ उनले भने ।
फेरिएन जीवनस्तर
शासकीय संरचनाको विभाजन भए पनि नागरिकको जीवनशैलीमा भने कुनै पनि परिवर्तन आउँन नगकेको आन्दोलनमा सहभागी अगुवाहरु बताउँछन् ।
‘आधारभूत आवश्यकताकै लागि नागरिक छट्पटिनुपर्ने विद्यमान अवस्था रहेसम्म बदलिएको शासकीय संरचनामा गर्व गर्न सकिँदैन’ आन्दोलनमा सहभागी अगुवा प्रचण्ड पोखरेल बताउँछन् ।
प्रदेश सरकारले जनभावना अनुसार काम गर्न नसकेको तत्कालिन अखण्ड मध्यपश्चिम आन्दोलन नागरिक संघर्ष समितिका संयोजक तेजबिक्रम वस्नेतले बताए ।
‘प्रदेश प्राप्तिका लागि नागरिकले ज्यान गुमाए, तर प्रदेश सरकारले जनभावना अनुसार काम गर्न सकेन’ उनले भने, ‘आन्दोलन प्रदेश प्राप्तिका लागि मात्र नभई जनताको जीवनस्थर बदल्न थियो ।’
प्रतिक्रिया 4