Comments Add Comment

वृद्धिदरबाहेक नेपालका आर्थिक परिसूचक सकारात्मक छन् : अर्थमन्त्री

५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धिदरबाहेक नेपालका आर्थिक परिसूचक सकारात्मक रहेको दावी गरेका छन् । शुक्रबार विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँगको भिडियो कन्फरेन्स बैठकमा अर्थमन्त्री खतिवडाले उक्त दावि गरेका हुन् ।

कोभिड १९ को महामारकिा कारण नेपालको पर्यटन, उत्पादनमूलक उद्योग र निर्माण क्षेत्र बढी प्रभावित भएकोले वृद्धिदर न्यून हुन गएको अर्थमन्त्रीको भनाइ छ । त्यसबाहेकका अन्य समग्र आर्थिक परिसूचक सकारात्मक रहेको अर्थमन्त्रीको भनाइ छ ।

उनले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशत हाराहारी रहेको, चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सिमित रहेको, शोधनान्तर बचत अमेरिकी डलर १.६ अर्ब भन्दा बढी नै रहेको, सरकारको संचित खाता (ट्रेजरी) घाटामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको भन्दै परिसूचकहरु सकारात्मक रहेको उल्लेख गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर बीच विश्वभर फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं थप पार्न सक्ने प्रभाव, कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले हालसम्म चालेका कदमबारे छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

छलफलमा अर्थमन्त्रीले विश्व बैंकवाट कोरोनाको असर न्यूनीकरण गर्न तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले स्वास्थ्य जोखिम न्यूनीकरण तथा आर्थिक पुनरुत्थानका कार्यक्रमलाई निरन्तरता दिन थप सहयोगको अपेक्षा समेत विश्व बैंकसँग गरेका छन् ।

नेपालले आगामी दिनमा स्वास्थ्य उपचार, सामाजिक सुरक्षा, साना तथा मझौला उद्यमको व्यवसायिक निरन्तरता एवं रोजगारी सिर्जना हुने तथा ठूला आयोजनाको कार्यान्वयनमा जोड दिएको बताए । तर, यसका लागि आवश्यक श्रोत व्यवस्थापन चुनौतीपूर्ण भएको उनको भनाइ छ ।

अर्थमन्त्रीले विषम परिस्थितिमा पनि विश्व बैकको सहयोगमा सञ्चालित आयोजनामा प्रगति राम्रो रहेको र आईडा मुलुकहरुमा नेपालको कार्य सम्पादन उत्कृष्ट हुनुले द्धिपक्षीय सहयोग थप विस्तार गर्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

वित्तीय दबाबका बावजुद नेपालले विश्व बैक र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) को शेयरमा नेपालको कोटा वृद्धि गरी नेपाल र विश्व बैकबीच समूहबीच लामो समयदेखि रहेको  न्यानो सम्बन्धलाई जीवन्त राख्ने प्रयास गरेको बताए ।

अर्थमन्त्री खतिवडाले स्वास्थ्य र आर्थिक पुनरुत्थान सगसँगै लैजानुपर्नेमा जोड दिदै नगद कोष व्यवस्थापनमा विश्व बैंकको बजेटरी सहायताले समेत सघाउ पुर्‍याएको उल्लेख गरे । विश्व बैंकसंग हालै संझौता भएको रणनीतिक सडक आयोजना हाल सम्मकै ठूलो एकल आयोजना रहेको र गत बर्ष सो आयोजनासहित महत्वपूर्ण आयोजना संझौता भई करिव १ अर्ब डलर थप प्रतिवद्धता प्राप्त भएको समेत जानकारी दिए ।

छलफलमा विश्व बैकका उपाध्यक्ष हार्टविग सेफरले पोर्टफोलियो कार्यान्वयनमा नेपालको प्रगति पूर्व निर्धारित लक्ष्यको तुलनामा राम्रो रहेको उल्लेख गरेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ । साथै नेपालको प्रदर्शन दक्षिण एशियाली क्षेत्रमै उत्कृष्ट भएको समेत उनले बताए ।

हार्टविगले नेपाल जस्ता कम विकसित मुलुकहरुले सामना गरिरहेको आर्थिक श्रोतका अभाव परिपूर्ति गर्न हालको आईडा श्रोत अपर्याप्त हुने र सो वृद्धि गर्न तथा वित्तीय ऋणको तिर्नुपर्ने साँवा व्याज स्थगनको अवधि सन् २०२१सम्म बढाउन विश्व बैंकका अध्यक्ष डेभिड मालपासले प्रयास गरिरहेको जानकारी गराए । उनले सो अभियानमा पहल गर्न समेत मन्त्री खतिवडालाई सुझाव दिएका छन् ।

उनले दुवै पक्षवाट तयारी पूरा भएका थप चार आयोजना वोर्डमा निर्धारित मिति मै पेश गर्ने गरी तयारी भइरहेको तथा प्रारम्भिक तयारीमा रहेका अन्य आयोजना पनि अगाडि वढाउन विश्व बैक तयार रहेको उल्लेख गरे ।

नेपालको सार्वजनिक ऋण व्यवस्थापनको साथै समष्टिगत आर्थिक अवस्था सकारात्मक रहेको भन्दै कोभिड-१९ को प्रभाव कम हुने वित्तिकै नेपालको अर्थतन्त्र आˆनो लयमा र्फकने विश्वास व्यक्त गरेको अर्थ मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment