Comments Add Comment

मालिंगाले आईपीएलको सुरुवाती खेल गुमाउने

५ भदौ, काठमाडौं । मुम्बई इन्डियन्सका फास्ट बलर लासिथ मालिंगाले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को सुरुवाती खेल गुमाउने भएका छन् । व्यक्तिगत कारण मालिंगाले आईपीएलको केही खेल गुमाउने क्रिकइन्फोले जनाएको छ ।

आइपीएलको १३ औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ । मालिंगा आईपीएल सुरु हुँदा युएई पुग्ने छैनन् ।

क्रिकइन्फोका अनुसार मालिंगाको बुबा बिरामी रहेको र केही दिनमा उनको शल्यक्रिया हुनेछ । त्यसैले मालिंगा बुबासंगै रहने जनाइएको छ । त्यस बेला उनले श्रीलंकाको राजधानी कोलोम्बोमै ट्रेनिङ गर्नेछन् ।

मालिंगाले गत सिजनको फाइनलमा चेन्नई सुपर किंग्सविरुद्ध अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै मुम्बई उपाधि जिताउन भूमिका खेलेका थिए । उनले अन्तिम ओभरमा ८ रन डिफेण्ड गरेका थिए । चेन्नईले ५ बलमा ७ रन जोड्दै अन्तिम बलमा जितका लागि २ रन आवश्यक बनाएको थियो । तर मालिंगाले शार्दुल ठाकुरको विकेट लिँदै मुम्बईलाई १ रनको जित दिलाएका थिए ।

सुरुवाती ३ ओभरमा ४२ रन खर्चे पनि उनले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गरे ।

अर्को साता ३७ वर्ष लाग्ने मालिंगाले पछिल्लो पटक यही वर्ष मार्चमा वेष्ट इन्डिजविरुद्ध टी-२० सिरिज खेलेका थिए । तर जुन –जुलाईमा भएको श्रीलंकाको आवासीय क्याम्पमा भने उनी सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment