Comments Add Comment

विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता कोमामा

५ भदौ, काठमाडौं । विष खुवाएको आशंका गरिएका रुसी विपक्षी नेता अलेक्सी नभाल्नी कोमामा गएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले बताएका छन् ।

४४ वर्षीय नभाल्नी रुसी राष्ट्रपति पुटिनको विरोध गरेकोमा कैयौँ पटक जेल परेका थिए । उनले भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका छन् ।

उनी आन्तरिक उडानका क्रममा हवाई जहाजभित्रै बेहोस भएका थिए । त्यसपछि उनी सवार हवाई जहाजलाई आपतकालीन अवतरण गराएर अस्पताल लगिएको थियो ।

नभाल्नीका समर्थकहरुले नभाल्नीलाई चियामा मिसाएर विष खुवाइएको आशंका गरेका छन् । विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको उनीहरुको आशंका छ ।

यसैबीच जर्मनी र बेलायतले नभाल्नीको स्वास्थ्य र उनलाई विष खुवाइएको भन्ने समाचारप्रति चासो व्यक्त गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको उपचारमा सघाउने बताएकी छन् । नभाल्नीलाई लिन रुस जानका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाइएको छ ।

राष्ट्रपति पुटिनका प्रवक्ताले पनि नभाल्नीको शीघ्र स्वास्थ लाभको कामना गर्दै उनलाई विदेश लैजान अनुमति दिइने बताएका छन् ।

यसैगरी बेलायतका विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारले आफूलाई चिन्तित बनाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment