Comments Add Comment

कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु

४ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बिहीबार ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  ७०७ जना संक्रमित थपिएका छन् ।

बिहीबार सप्तरी, पर्सा, बारा, चितवन, काठमाडौं र रुपन्देहीमा १/१ जनाको मृत्यु भएको हो ।

  • सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका सप्तरी राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । ज्वरो आउनुका साथै सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । अवस्था गम्भीर भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरेको थियो ।
  • यस्तै बारामा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्युपछि करोना संक्रमण पुष्टि भएको छ । बुधबार राति ११ बजेतिर श्वासप्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्याए लगत्तै उनको मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
  • काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
  • चितवनको रत्ननगर नगरपालिका-१३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।
  • रुपन्देहीको देवदहमा नगरपालिका-३ शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ । बुधबार संक्रमण पुष्टि भएका उनमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत थियो । उनको देवदह मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।
  • पर्साको वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकका ७४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु  भएको छ । वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा उनको बिहीबार साँझ पौने ७ बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जानकारी  दिएका छन् ।

योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि बारा, पर्सा, चितवन र रुपन्देहीको मृत्यु त्यसमा समावेश छैन ।

७०७ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ७०७ जनामा कोभिड–१९को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । उनीहरूमध्ये १७ हजार ९६४ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ८३२ नमुना परीक्षण गरिएको थियो, त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र २०० संक्रमित भेटिएका छन् । जसमध्ये १७४ जना काठमाडौं, १८ जना ललितपुर र ८ जना भक्तपुरका छन् ।

यस्तै सर्लाहीका ९३ जना, पर्साका ५५, धनुषा र अछामका ३१/३१ जना, कपिलवस्तुका ३०, मकवानपुरका २५, सिराहा र बझाङका २१/२१ जना, सप्तरी, कास्की र दैलेखका १९/१९ जना, रुपन्देहीका १८, रौतहट, बाँके र डोटीका १६÷१६ जना, महोत्तरीा १५, सुनसरीका १३ जनामा संक्रमण पुष्टि भएको छ ।

तेह्रथुम र मोरङमका ९/९ जना, बारा र बाग्लुङका ८/८ जना, उपयपुर र दाङका ४/४ जना, नुवाकोट, नवलपुर र गुल्मीका ३/३ जना, दोलखा, धादिङ, तनहुँ, बर्दिया र डडेलधुराका २/२ जना तथा झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा , प्युठान, कालीकाट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment