Comments Add Comment

‘निषेधाज्ञा नमान्नेलाई प्रशासनले कारवाही गर्छ, कोभिडले पाता फर्काउँछ’

एक हप्तालाई मर्निङ वाक थाँती राखौं, घरमै बसौं, योग गरौं : प्रजिअ दाहाल

३ भदौ, काठमाडौं । कोरोना महामारी रोकथामका लागि १२० दिनसम्म लकडाउन गरेपछि जनजीवन सामान्य हुन थालेको थियो । तर ६ साउनमा लकडाउन खुलेसँगै संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।

अहिले सरकारले देशव्यापी लकडाउन त गरेको छैन तर, संक्रमण बढी देखिएका क्षेत्रमा निषेधाज्ञा लागू गर्ने नीति लिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भन्छन्, ‘औषधि, एम्बुलेन्स, फोहोर व्यवस्थापन, अस्पताल जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सबै क्षेत्र बन्द हुनेछन् ।’

नागरिकलाई पर्ने अत्यावश्यक काममा पनि अवस्था अनुसार सहजिकरण गरिने उनले बताए । त्यसबाहेकका अवस्थामा घरबाट बाहिर निस्किए कडा कारबाही हुने प्रजिअ दाहाल बताउँछन् । ‘अहिले त्यसै पनि प्रशासनले कारबाही गर्नैपर्दैन, कोभिड–१९ आफैंले पाता फर्काउँछ’, अनलाइनखबरसँगको संवादमा उनले भनेका छन्, ‘अटेरी गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग नियन्त्रण ऐन अनुसार पक्राउ गरेर पनि कानूनी कारबाही अघि बढाउँछौं ।’

दाहालले एक साताको अवधिमा उपत्यकामा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ, परीक्षण र आइसोलेसन निर्माणलाई तीब्रता दिइने पनि बताए ।

उनलाई निषेधाज्ञाको समयमा आमनागरिकले के गर्ने र के नगर्ने भन्ने विषयदेखि एक सातापछि पुनः निषेधाज्ञा थपिने सम्भावना छ कि छैन भनेर पनि सोधेका छौं । प्रस्तुत छ, दाहालसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः–

लकडाउन अन्त्य भइसकेको अवस्थामा काठमाडौंमा फेरि साता व्यापी निषेधाज्ञा लागू गर्नुपर्ने अवस्था कसरी आयो ?

जिल्ला कोभिड–१९ संकट व्यस्थापन समितिले परिस्थितिको विश्लेषण गरिरहेको हुन्छ । हामी स्थितिको समीक्षा गर्छौं, विज्ञसँग पनि परामर्श लिन्छौं । त्यसबाट अहिले दैनिक संक्रमितको संख्या बढ्दै गएर अस्पतालमा समेत भर्नाका लागि ठाउँ अभाव भएको कुरा आयो । आइसोलेसन कक्षको अभाव भएको कुरा आयो ।

काठमाडौं संघीय राजधानी भएकाले ७७ वटै जिल्लाका मान्छेहरू उपचारका सिलसिलामा उपत्यका छिर्छन् । हामीले अहिले नै कडा कदम नचाल्ने हो भने स्थिति झन् भयावह हुनसक्ने देखिएको छ । त्यसकारण तत्कालै निषेधाज्ञाको निर्णय गरिएको हो ।

पहिले लकडाउन चाहिँ नेपाल सरकारले गरेको थियो । तर, अहिले मन्त्रिपरिषद्को आदेश र स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कुनै पनि भागमा जिल्लाको संकट व्यवस्थापन समितिको विश्लेषण र सिफारिसका आधारमा निषेधाज्ञा गर्न सक्ने अधिकार दिएको थियो । त्यसैको प्रयोग गरेर तीन जिल्लाका प्रजिअको बैठक बसेर १७ बुँदे निर्देशन जारी गरेका छौं ।

निषेधाज्ञामा सवारीसाधन बाहेक अरु कुन–कुन क्षेत्र बन्द हुन्छन् ?

हामीले अत्यावश्यकबाहेक भनेका छौं । त्यो भनेको आपूर्ति व्यस्थापन, औषधि, इन्धन, फोहोर व्यवस्थापन, अस्पताल, तरकारी ढुवानी र केही व्यक्तिगत पनि जस्तै अस्पताल जानु पर्ला लगायतका विषयबाहेक सामान्य कामका लागि हामी कसैलाई पनि घरबाट बाहिर निस्किन दिँदैनौं ।

तर, अत्यावश्यकमा चाहिँ हामी सँगसँगै सहजिकरण पनि गछौं । अहिले आइसोलेसन सेन्टर बनाउनुपर्ने हुनसक्छ । त्यसका लागि प्राविधिक ल्याउनुपर्ने होला । त्यसैले योसँग जोडिएका सेवा पनि खुला हुन्छ । अन्य कुरा पूर्णतः ठप्प हुन्छ ।

अहिले भिडभाडमा जाने, तीज मनाउने, सेमिनार, गोष्ठी गर्ने जस्ता सबै कुरा छोडौं । फ्रन्टलाइनमा खटिएकाबाहेक कोही पनि दुई हप्ता चुपचाप घरमै बसौं । मलाई लाग्छ, अहिले एक हप्ताका लागि सबैले खाने कुराको पनि व्यवस्था गरिसक्नु भएको छ । भनेपछि भोलिदेखि किन निस्किने ? तरकारी किन्न पनि दिनैपिच्छे जानुपर्छ भन्ने के छ ? कोभिडलाई जित्नका लागि खानपानमा पनि नियन्त्रण गर्नुपर्‍यो ।

पहिलेको लकडाउन र अहिलेको निषेधाज्ञामा के फरक छ ?

दुवैको उद्देश्य भनेको मान्छेको हिंड्डुल शून्य बनाउने नै हो । हामीले लकडाउनको अभ्यास १२० दिनसम्म गर्‍यौं, त्यसपछि केही खुकुलो बनायौं । तर, खुकुलो गर्दै जाँदा मान्छेहरु निर्वाध रुपमा हिँड्ने, सामाजिक दूरी कायम नगर्ने, स्वास्थ्य प्रोटोकलहरूको पालना नगर्ने जस्ता गतिविधि बढ्यो । जसले गर्दा जोखिम बढेर अहिले काठमाडौं उपत्यकामा धेरै मान्छेहरू संक्रमित भएको स्थिति छ । त्यो कुरा तथ्यांकले पनि देखाउँछ ।

त्यसैले अब स्थितिलाई नियन्त्रणमा लिन र महामारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन लकडाउन नभनीकन कुनै पनि काम गर्नबाट निषेध गर्ने आदेश भनेर जारी गरिएको हो ।

लकडाउन र यसमा चाहिँ कसरी पनि बुझ्नु पर्ला भने लकडाउनले पनि हिंडडुल नियन्त्रण त गर्‍यो तर, आदेशहरुको कार्यान्वयन इन्फोर्सिङको पाटो चाहिँ अलिकति कमजोर भयो कि भन्ने पनि भयो । त्यसकारणले सर्वसाधारणले लकडाउन खुलेपछि एकदम निर्वाध रुपमा हिँड्ने, अब सकियो एकदम ‘फ्रि’ भइयो भन्ने खाल्को प्रवृत्ति बढेकाले अब इन्फोर्समेन्टमा केन्द्रित हुनुपर्छ भनेर संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ मा भएको अधिकार प्रजिअलाई प्रत्यायोजन गरेर आदेश जारी भएको छ ।

यो चाहिँ नेपाल सरकारले अधिकार प्रत्यायोजन गर्‍यो साथै, स्थानीय प्रशासनले ऐनले पनि प्रजिअलाई स्वतः अधिकार दिएको थियो । त्यसकै दफा ६ अन्तर्गतको व्यवस्था अनुसार तत्काल सर्वसाधारणको स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्ने सम्भवना भएको सन्दर्भमा कुनै पनि काम गर्न निषेध गर्ने आदेश भनेर हामीले जारी गरेका छौं ।

निषेधाज्ञा उल्लंघनलाई कानुनी कारबाहीकै विषय बनाउन खोजिएको हो ? 

स्थानीय प्रशासन ऐनमा यो आदेशको कसैले उल्लंघन गर्छ भने एक महिनासम्म कैद, ५ सय रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । संक्रामक रोग नियन्त्रण ऐन अनुसार पनि एक महिना कैद र एक सय रुपैयाँ जरिवाना र बाधा विरोध गर्नेलाई ६ महिना कैद र ६ सय रुपैयाँ जरिवाना भनेको छ । त्यसैले अब अलकति कडा खालको सजाय नै हुन्छ ।

दुवै ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्न सक्छ । अब मुख्य कुरा भनेको तपाईं, म र सबै सचेत हुनुपर्‍यो, यो कोभिड–१९ भनेको डरलाग्दो रोग पनि भयो । न यसको उपचार विधि अहिलेसम्म पत्ता लागेको छ, न यसको व्यवस्थापन सजिलो छ । यो लाग्यो कि समस्या आइहाल्यो । यो व्यस्थापकीय हिसाबले पनि एकदमै चुनौतीपूर्ण छ, कठिन छ । त्यसकारणले हामी सबै सचेत भए मात्र न्यूनिकरण गर्न सकिन्छ । त्यसमा पनि सरकारले जारी गरेको आदेशलाई इमान्दारितापूर्वक पालना गरेर राज्यप्रति बफादारिता प्रकट गर्नु आमनागरिकको दायित्व पनि हो ।

पछिल्लो समय काठमाडौंको सीमा नाकाबाट उपत्यका प्रवेशमा रोक लगाइएको थियो । अहिले नागरिकलाई अत्यावश्यक परेका वेला उपत्यका बाहिर जान सम्भव छ कि छैन ?

एउटा उदाहरण हेरौं, अस्पतालमा विरामी आयो, उपचार सकियो । पैसा पनि सकियो । बस्ने ठाउँ छैन भने चिकित्सकको डिस्चार्ज पत्रको आधारमा सहजिकरण गर्नुपर्छ । नभए, डिस्चार्ज गरेको व्यक्तिलाई त्यहिँ संक्रमण हुनसक्ने जोखिम हुन्छ र थप समस्यामा पर्न सक्छ ।

अर्को कतिपय अहिले पनि विहे गर्छन् । हामी के भन्छौं भने यस्तो वेलामा विहे पनि नगर्नुस्, यो हाम्रो अनुरोध हो । तर, यो संस्कार, सितसँग जोडिएको कुरा पनि भयो । संयोगको कुरा पनि भयो, त्यसैले त्यस्ता कुरालाई पनि सहजीकरण गर्दिन्छौं । अरु कुरामा उपत्यकाबाहिर जान पाइँदैन ।

कतिपय अवस्था नेपालबाट बाहिर जानेको क्रम पनि देखिएको छ । त्यसमा के छ व्यवस्था ?

अहिले ‘भिषा र कन्फर्म’ टिकट छ भने बाहिरबाट आउन दिने निर्णय गरेका छौं । नेपालको जुनसुकै जिल्लाबाट आउन त्यसका लागि सहजीकरण हुन्छ ।

लकडाउनको समयमा मर्निङ वाकमा निस्किने, बेलुकाको समयमा तरकारी किन्न भनेर बाहिर निस्किने गरेको पाइएको थियो । त्यस्तो अवस्थामा के गरिन्छ ?

कोभिड–१९ विरुद्ध करिब ५ महिनाको अभ्यासमा अहिले हामी छौं । यो समयको सन्देश भनेको हामीले दिनचर्यामा परिवर्तन गर्नुपर्छ । मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने कुरामा हामीले ध्यान दिनुपर्छ । विज्ञहरुले पनि यति तीन वटा कुरालाई पूर्ण पालना गरे केही पनि नहुने भनेका छन् ।

अब यति कुरालाई पालना गर्न कसैले कसैलाई सिकाइरहनु पर्दैन जस्तो पनि लाग्छ । जहाँसम्म पालनाको कुरा छ, यसमा हामीले धेरै अनुरोध गर्‍यौं । अब दण्डात्मक रुपमा जान्छौं ।

दण्ड गर्छौं र दण्डित हुने मान्छेलाई पत्रिका, टिभीमा पनि सार्वजनिक गर्न पनि सक्छौं । मास्क लगाउन न पैसा लाग्छ ? हामीलाई मास्क लगाउन के समस्या छ ? तपाईं सेनिटाइजर प्रयोग गर्न पैसा तिर्नुपर्छ ? यति तीन कुरा पालना गर्न सरकारले विहानदेखि बेलुकासम्म भनेको भन्यै छ । तर, म मान्दैन मान्दिन भनेपछि मलाई कारबाही त प्रशासनले होइन, कोभिडले कारबाही गर्ने भयो । कोभिडले पाता फर्काउने भयो । यसकारण अब खाली कुरा के रह्यो भने कति इमान्दार भएर मैले नेपाल सरकारको अनुरोधलाई पालना गर्छु भन्ने हो । किनभने यो प्रत्येक व्यक्तिले पालना गर्नुपर्ने कुरा हो, एकजनाले मात्र गरेर हुँदैन ।

दशतिर गएर संक्रमित भएर ट्रेसिङ गर्ने खोज्दा पनि मोबाइल ‘स्वीच अफ’ गर्दिने, गलत मोबाइल नम्बर दिने हेर्नुस् त त्यस्तो पनि प्रवृत्ति देखियो । त्यसकारण अब यो क्षम्य हुँदैन । यस्तो प्रवृत्तिले आफू त मरौं मरौं अरुलाई पनि मार्ने पो जोखिम बढायो भन्ने हिसाबले हेरेका छौं । त्यसकारणले मर्निङ वाक गर्ने पनि एक हप्तालाई थाती राखौं । इभिनिङ वाक पनि थाँती राखौं । घरमै बसौं, योग गरौं । त्यहीँ एक्सरसाइज गरौं । त्यसो हुँदा मरिँदैन । तर, बाहिर मर्निङ वाकमा धेरै भिडभाड गर्‍यौं भने मर्न सकिन्छ । यो कुरा सबैले बुझ्नुपर्‍यो ।

यहाँले उपत्यकाका अस्पतालमै कोरोना संक्रमित राख्ने शय्याको अभाव छ, आइसोलेसनको अभाव छ भन्नु भयो । अब कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

निषेधाज्ञा जारी गरेको अवधिमा हाम्रो सक्रियता आइसोलेसन सेन्टर, क्वारेन्टिन र परीक्षणलाई बढाउने साथै ट्रेसिङलाई पनि ध्यान दिने कुरामा हुनुपर्छ । यसमा सबै प्रत्येक विषयगत मन्त्रालय, स्थानीय प्रशासनको मात्र कुरै छैन, समग्र नेपाल सरकार नै केन्द्रित हुनुपर्छ । अरु कुरा तपशीलका हुन् ।

बाटो बनाउने, पुल बनाउने भनेको पछि गर्दा पनि हुन्छ । यति कुरामा ध्यान दिनुपर्छ । आइसोलेसन सेन्टरका लागि सरकारले पनि छलफल गरिरहेको जस्तो मलाई लाग्छ । यहाँको जिल्ला संकट व्यस्थापन समितिले पनि ८–१० वटा निजी मेडिकल कलेजलाई आइसोलेसनमा रुपान्तरण गर्नुपर्छ भनेर प्रस्तावसहित पठाएको छ । उपत्यकाका ९७–९८ वटा होटलमा २५ सय जना अटाउन सक्ने अवस्था छ । यसलाई पनि उपयोग गर्नुपर्‍यो भनेका छौं ।

आइसोलेसन सेन्टर छैन भनेपछि नागरिकको आत्मबल कमजोर हुन्छ । त्यसकारणले अबको फोकस भनेको परीक्षणको दायरासँगै कन्ट्याक टे«सिङ र आइसोलेसन सेन्टर बढाउनेतिर हुन्छ । ट्रेसिङमा युवा पनि जागरुक हुनुपर्‍यो । स्वास्थ्य मन्त्रालयले नेतृत्व गरेर सम्बन्धित ठाउँको महिला समिति, टोल विकास समिति लगायतलाई पनि प्रयोग गर्नुपर्छ । सबैले सहयोग गर्नुपर्‍यो ।

पालिकाहरुले पनि खाली रहेका विभिन्न भवनलाई आइसोलेसन सेन्टरमा रुपान्तरण गर्नुपर्छ । मलाई लाग्छ, एक हप्ताभित्र हामी यो सबै काममा केन्द्रीत भयौं भनेदेखि यो कोभिडलाई व्यस्थापन गर्न सकिन्छ ।

जतिवेला लकडाउन भयो, त्यतिवेला निश्चित समयसम्म हुने भनिएको थियो । तर, समय क्रमसँगै थप्दै लगियो । अहिले पनि आमजनमानसमा निषेधाज्ञा पनि थपिँदै जाने त होइन भन्ने छ नि ?

त्यसका लागि हामीले एक हप्ताको स्थिति विश्लेषण गर्नुपर्ने हुन्छ । किनभने, बाहिरबाट मान्छे ठप्प पारेपछि उपत्यकाभित्रकालाई कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाएर परीक्षणको कुरालाई व्यापकता दिन सकियो भने सबै कुरा मिल्दै जान्छ । तर, जब बाहिरबाट मान्छे ह्वार–ह्वारती आउँछन्, कन्ट्याक टे«सिङ पनि लथालिङ्ग हुन्छ । परीक्षणको काम पनि सीमित हुन्छ भने अन्यौतापूर्ण स्थिति हुन्छ । त्यसकारण यसलाई प्राथमिकतामा राखेर काम गर्नु उपयुक्त होला ।

अहिलेसम्म विज्ञहरूले पनि हामी नियन्त्रणमै छौं भन्छन् तर, पनि यसमा प्रत्येक व्यक्ति नै सहज हुनुपर्छ । जुन देशको नागरिक स्वास्थ्य सावधानी अपनाउन सजग छ, त्यहाँ यो रोग पूरै नियन्त्रणमा छ । जुन देशमा अनुशासनहिनता देखिएको छ, त्यहाँ महामारी फैलिएको छ । त्यसो हुनाले मेरै, तपाईंकै आमनागरिकै हातमा रहेछ, यो नियन्त्रणको कुरा । भनेपछि यस्तो सजिलो काम पनि हामी नगर्ने ? मलाई त बडो गजब लाग्छ । त्यसकारणले यो चाहिँ हामीले एकदमै ध्यान दिनुपर्छ ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment