
५ भदौ, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा १५ दिनको शिशुमा नोवल कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । ती शिशुको बिहीबार पोजेटिभ रिपोर्ट आएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक अधिकारीले जानकारी दिए ।
‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा शिशुको कोरोना परीक्षण गरिएको थियो । गत सोमबार ती शिशुका ३४ वर्षीय बुबालाई सास फेर्न गाह्रो भएपछि सातदोबाटोस्थित एक निजी अस्पताल लगिएको थियो । अस्पतालले बिरामीको उपचार गर्न नमानेपछि पाटन अस्पताल पुर्याइयो । उनका बाबु मार्केटिङ रिप्रेजेन्टेटिभ हुन् । उनीबाट नै शिशुमा कोरोना सरेको बताइएको छ।
‘पाटन अस्पतालले उपचार त गर्यो तर आईसीयू नपुग्ने भनेपछि फेरि मण्डिखाटरस्थित निजी अस्पताल पुर्याइयो’ उनका एक आफन्तले अनलाइनखबरसँग भने, ‘परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आयो ।’
त्यसपछि शिशुको आमा र हजुरबुबाको समेत रिपोर्ट पोजेटिभ आएको छ । एकाघरमा बस्दै आएका शिशुका हजुरआमा र काकाको भने रिपोर्ट नेगटिभ आएको छ । नवजात शिशुबाहेक सबैको परीक्षण निजी प्रयोगशालामा गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4