Comments Add Comment

विराटनगरमा आधा संक्रमित घरमै, अधिकांश सम्पर्कबाहिर

७ भदौ, विराटनगर । कोरोना संक्रमण तीब्र विस्तार भएको मोरङको विराटनगरमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ८४९ पुगेको छ । तीमध्ये आधा बढी होम आइसोलेसनमा छन् ।

तर होम आइसोलेसनमा रहेकाहरु सरकारी निगरानीभन्दा बाहिर रहेका छन् । विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाको सम्पर्कमा हुनुपर्ने उनीहरुलाई महानगरले सम्पर्क नै गरेको छैन ।

विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलका अनुसार ४ सय बढी संक्रमित होम आइसोलेसनमा छन् । तर महानगरसम्मको रेकर्डमा भने ३२५ जना होम आइसोलेसनमा रहेको उल्लेख छ ।

रेकर्डमा रहेका संक्रमित भने महानगरको सम्पर्कमा छन् । अन्य संक्रमित कहाँ कुन अवस्थामा छ भन्ने जानकारी छैन ।

बिहीबार राति होम आइसोलेसनमा बसेका विराटनगर– ६ सरोचियाका ४५ वर्षका संक्रमितको घरमै मृत्यु भयो । बुधबार पोजेटिभ रिपोर्ट आएका उनलाई बिहीबार बेलुकासम्म विराटनगर महानगरपालिकाले आइसोलेसनमा राख्न समन्वय गरेन । ती पुरुषसँग मात्र होइन होम आइसोलसशनमा बसेका अधिकांश संक्रमितसँग नियमित सम्पर्क र कन्ट्याक्ट ट्रेसिङ भएको छैन ।

‘होम आइसोलेसनमा बस्नेको निगरानीका लागि पाँचजनाको टोली बनाएका छौं’ प्रमुख प्रशासकिय अधिकृत पोखरेलले भने ‘टोलीले सबै संक्रमितलाई सम्पर्क गर्दै स्वास्थ्य अवस्था बुझ्छन् ।’

लक्षण देखिएकालाई नियमित सम्पर्क गर्ने र नदेखिएकालाई असहज भए सम्पर्क गर्न सम्पर्क नम्बर उपलब्ध गराउने उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनमा दुई पटक संक्रमितलाई सम्पर्क गर्न टोली परिचालन गर्न भनेको छ । तर विराटनगरले भने मन्त्रालयले बनाएको यो कार्यविधिअनुसार काम गरेको छैन ।

विराटनगरमा दिलिप यादवको नेतृत्वमा होम आइसोलेसनमा बसेकाहरुको अवस्था बुझ्न समिति बनेको छ । आइतबारदेखि संक्रमितलाई दैनिक रुपमा सम्पर्क गरेर उनीहरुको अवस्थाका बारेमा अपटेड लिने यादवले बताए । उनले होम आइसोलेसनमा बसेकाहरु सबैको रेकर्ड आइनसकेको बताए ।

महानगर र प्रदेशको तथ्याङ्क फरक

शुक्रबार प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटगरमा शुक्रबार २९ जना र शनिबार ३३ जना संक्रमित थपिएका छन् । तर विराटनगरको रेकर्डमा भने शुक्रबार १७ र शनिबार ९ जना मात्र संक्रमित थपिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङकका आधारमा विराटनगरमा कोरोना संक्रमितको संख्या ८४९ पुगेको छ । तर विराटनगर महानगरपालिकाको रेकर्डमा ८१५ संक्रमित छन् ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की महानगरमा शुक्रबार १७ र शनिबार ९ जना संक्रमितको मात्रै विवरण आएको बताए ।

‘कन्ट्याक्ट ट्रेसिङ हामीले गर्ने भएकाले रिपोर्ट पनि आउनुपर्छ’ उनले भने ‘हामीसँग संक्रमितको सबै विवरण आएन भने कन्ट्याक्ट ट्रेसिङ गर्न गाह्रो हुन्छ ।’ प्रदेशको रेकर्ड बढी भएपनि संक्रमितको रिपोर्ट नआएको उनले बताए ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय अन्तरगतको कोभिड– १९ निगरानी, तथ्याङ्क संकलन तथा अनुगमन समितिको सचिवालय संयोजक डा. सरोज विशाल सम्बन्धित ल्याबले नै स्थानीय तहलाई कोरोना जाँचको रिपोर्ट पठाउने बताउँछन् ।

संक्रमितको विवरण अध्ययनपछि मन्त्रालयले पनि जिल्ला स्वास्थ्य कार्यालय हुँदै स्थानीय तहलाई पठाउने उनको भनाइ छ ।

घर घरमा औषधि

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार संक्रमित व्यक्तिलाई महानगरपालिकाले घरघरमा औषधि पुर्‍याउन थालेको छ । ‘सबै वडा कार्यालयमार्फत अत्यावश्यक औषधि संक्रमितको घरघर पुर्‍याइरहेका छौं’ उनले भने ‘औषधि नपाएका संक्रमित व्यक्तिले वडा कार्यालयमा सम्पर्क गरे हामी घरमै पुर्‍याइदिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment