Comments Add Comment

दक्ष स्वास्थ्यकर्मी नहुँदा भेन्टिलेटर थन्कियो

७ भदौ, काठमाडौं । उदयपुरको जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित ५ शय्याको आईसीयू कक्ष निर्माण गरेको महिनौं भइसक्यो, तर दक्ष स्वास्थ्यकर्मी नहुँदा थन्किएर बसेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदी जिल्लामा भएको भेन्टिलेटर सञ्चालनमा गम्भीर विरामीलाई धरान र विराटनगर पठाउनुपरेको बताउँछन् । चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा ल्याइएको भेन्टिलेटर प्रयोगमा आउन नसकेको उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका संयोजक खड्ग परियार नै जिल्ला अस्पतालका अध्यक्ष हुन् । उनले चाँडै नै भेन्टिलेटर सञ्चालनका लागि आफूले प्रयास गरिरहेको बताए ।

उनका अनुसार प्रदेश सरकारले भेन्टिलेटर खरिदका लागि एक करोड रुपैयाँ दिएको थियो । त्यो रकमबाट अस्पतालले दुई वटा भेन्टिलेटर र पाँच शय्या क्षमताको आईसीयू कक्ष निर्माण गरिसकेको छ ।

दुई कक्षमात्रै निर्माण गर्ने बजेट भए पनि अस्पतालले ५ शय्याको आईसीयू कक्ष निर्माण गरेको थियो । जनशक्ति भए पनि दक्ष नहुँदा भने भेन्टिलेटर सञ्चालन गर्न नसकिएको संयोजक परिवारले बताए । यद्यपि, चाडै असपतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षित गराएर भेन्टिलेटर सञ्चालनमा ल्याउने गृहकार्य थालिएको उनले बताए ।

‘भेन्टिलेटर गत आर्थिक वर्षमा नै जोडिएको हो तर यहाँ भएको जनशक्तिमा यसका लागि तालिम लिनुभएको थिएन’ उनले भने, ‘तालिम प्राप्त जनशक्ति नभएका कारण सञ्चालनमा ल्याउन नसकिएको हो अब हामी चाँडै डाक्टर नर्स सहित ६ जनालाई तालिम दिएर सञ्चालनमा ल्याउनेछौं ।’

६ जनाको टोलीलाई कम्तीमा एक हप्ताको तालिम लिए पछि चलाउन सकिने उनले बताए । तालिमका लागि धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान वा विरानटगरका कुनै अस्पतालमा लगिने उनले बताए ।

‘ढिला हुनु गैरजिम्मेवारीपन’

प्रदेशसभा सदस्य बिमल कार्की भेन्टिलेटर सञ्चालनमा ढिलाइ हुनुमा अस्पतालका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजककै कमजोरी रहेको बताउँछन् । एक वर्ष हुन लागिसक्दा पनि सञ्चालनमा ल्याउन नसक्नुको कारण संयोजककै गैर जिम्मेवारीपन भएको उनले बताए ।

सँगै काम थालेका निजी अस्पतालले गत पुस महिनामा नै सञ्चालनमा ल्याइसके पनि उदयपुरको जिल्ला अस्पतालले भने गैर जिम्मेवारीले ढिलाइ भएको कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment