Comments Add Comment

थिएगो सिल्भाले छाडे पीएसजी

८ भदौ, काठमाडौं । डिफेण्डर थिएगो सिल्भाले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन् । च्याम्पियन्स लिग २०१९-२० को फाइनलमा बायर्न म्युनिखसंग १-० ले पराजित भएपछि सिल्भाले पीएसजी छाडेका हुन् ।

‘पेरिसमा मेरो यो नै अन्तिम खेल हो’ सिल्भाले आरएमसी स्पोर्ट्ससंग भने, ‘फ्यानसंग म माफी माग्छु । सबै समर्थनकको मायाको लागि धन्यवाद ।’

उनले आफू अझै ३-४ वर्ष खेल्न चाहेको र २०२३ को कतार विश्वकपमा पनि खेल्न चाहेको बताए ।

३५ वर्षीय ब्राजिलियन सेन्टर ब्याक सिल्भाको पीएसजीसंगको सम्झौता पनि हालै सकिएको छ । यसअघि नै क्ललबे उनले सिजनपछि सम्झौता नवीकरण नगर्ने बताइसकेको थियो । सिल्भाले केही समय त्यहीँ खेल्न चाहेका थिए, तर पीएसजीले नै राख्न नचाहेको पनि केही सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जुन महिनामै एडिनसन कभानी र थोमस मुनिएरसंगै सिल्भाको सम्झौता सकिएको थियो । तर सिल्भासंगै फरवार्ड एरि चुपो मटिङले च्याम्पियन्स लिगको नकआउट स्टेज खेल्नलाई २ महिनाको सम्झौता थप गरेका थिए ।

सन् २०१२ मा एसी मिलानबाट पेरिस पुगेका सिल्भाले त्यहाँ रहँदा धेरै उपाधि जितेर समर्थकको मन पनि जिते । ८ वर्ष पीएसजीमा रहँदा उनले ७ पटक फ्रेन्च लिग वान, ६ पटक फ्रेन्च लिग कप, ५ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जिते ।

पहिलो पटक सिल्भाको कप्तानीमा यस वर्ष पीएसजी युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । तर बायर्नसंग १-० ले पराजित हुँदै उपाधिबाट वञ्चित रह्यो ।

पीएसजी छाडेपछि अब सिल्भाको गन्तव्य भने तय भइसकेको छैन । तर प्रिमियर लिग क्लब चेल्सीले सिल्भालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न चाहिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment