Comments Add Comment

बेलारुसका राष्ट्रपतिविरुद्ध राजधानी मिन्स्कमा हजारौंको प्रदर्शन

काठमाडौं । बेलारुसको राजधानी मिन्स्कमा राष्ट्रपति लुकासेन्को नेतृत्वको सरकारको विरोधमा ठूलो प्रदर्शन गरिएको छ । राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले चुनावमा धाँदली गरेको आरोपमा हजारौंको संख्यामा सडकमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग्दै मिन्स्कको सडकमा प्रदर्शन गरेका हुन् ।

अर्कोतर्फ राष्ट्रपति लुकासेन्कोले भने यस विरोध प्रदर्शनलाई दबाउने नीति लिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् ।

उनले यो आन्दोलन विदेशीको ईसारामा गुमनाम क्रान्तिकारीहरूले गरेको प्रतिक्रिया राष्ट्रपतिले दिएका छन् । चुनावमा लुकासेन्कोको विजयलगत्तैदेखि हालसम्म बेलारूसमा प्रदर्शन जारी छ । आन्दोलनको क्रममा प्रहरी कारबाहीमा परी कम्तीमा चार जनाको ज्यान गइसकेको छ । धेरै आन्दोलनकारीलाई प्रहरीले जेलमा यातना दिएको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

बेलारुसमा ९ अगस्टमा राष्ट्रपतिको चुनाव भएको थियो । आधिकारिक नतिजा अनुसार राष्ट्रपति लुकासेन्कोले ८० प्रतिशत र विपक्षी नेता स्वेतलाना तिखानोब्सक्यालाई १० प्रतिशत भोट प्राप्त भएको थियो । लुकासेन्को बेलारुसमा २६ वर्षदेखि निरन्तर सत्तामा छन् । यसपटकको चुनावमा कुनै स्वतन्त्र पर्यवेक्षक समेत राखिएको थिएन । विपक्षीहरूले पर्यवेक्षक समेत नरहेकोले यहाँ ठूलो धाँदली भएको आरोप लगाएका छन् ।

प्रतिपक्षी स्वेतलानाले अन्तिमसम्म लुकान्सेको विरोधमा खडा हुने आश्वासन दिएका छन् । चुनाव लगत्तै उनी छिमेकी मुलुक लिथुआनियामा निर्वासित जीवन जिउन बाध्य छन् ।

आइतबार मिन्स्कमा रहेको ‘इन्डिपेन्डेन्ट स्कायर’मा बच्चादेखि वृद्धसम्मका हजारौं जना जम्मा भएका थिए । धेरै प्रदर्शनकारीहरूले रातो र सेतो रंगको विपक्षी झण्डा बोकेका थिए । साथसाथै उनीहरूले स्वतन्त्रताको पक्षमा र सरकारको विरोधमा आवाज उठाइरहेका थिए ।

विरोधमा उत्रिएका प्रदर्शनकारीको संख्याको बारे विपक्षीको समर्थनमा रहेको मिडिया र सरकारी सञ्चारमाध्यममा फरक फरक दाबी छ । विपक्षी समर्थन रहेको मिडियाले भिडमा एक लाख जनाको संलग्नता रहेको उल्लेख गरेको छ भने सरकारी टिभीले २० हजार जनाको भिड रहेको बताएको छ ।

इन्डिपेन्डेन्ट स्कायरमा जम्मा भएका प्रदर्शनकारीहरु ‘हिरो सिटी’ युद्ध स्मारक हुँदै राष्ट्रपति भवनतिर लागेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो ।

त्यहाँको सरकारी टेलिभिजनले जारी गरेको एक भिडियो अनुसार राष्ट्रपति लुकासेन्को हेलिकप्टरबाट राष्ट्रपति भवनमा गएका थिए । राष्ट्रपति लुकासेन्कोले फ्ल्याक ज्याकेट लगाएको र एक स्वचालित हतियार समातेको भिडियो सेयर गरिएको छ ।

बेलारुसका अन्य धेरै सहरहरूमा पनि यस्तै प्रदर्शन भएका छन् । यसैबीच, लिथुआनियामा समेत हजारौं मानिसले राजधानी विलनियसदेखि लिएर बेलारुसको सीमासम्म मानव श्रृङ्खला बनाएर मिन्स्कको प्रदर्शनमा ऐक्यवद्धता प्रदर्शन गरेको छ । यसमा लिथुआनियाका राष्ट्रपति गीटानस नौसेडा समेत सामेल छन् । इस्टोनियाको राजधानी ट्यालिन र चेक गणतन्त्रको प्रागमा समेत यस्तै मानव श्रृङ्खलाको योजना बनाइएको थियो ।

मिन्स्कबाट बीबीसी संवाददाता जोआना फेसन भन्छन् अलेक्जेण्डर लुकासेन्कोको सुरक्षा बलको अघि यो ठूलो विरोध प्रदर्शन हो । बेलारुसका राष्ट्रपतिले जारी विरोधलाई अन्त्य गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन् र समस्या समाधान गर्ने वचन दिएका छन् । तर विरोधका स्वरलाई कम गर्ने कुनै गम्भीर प्रयास गरिएको छैन । उनी भन्छन्, ‘प्रहरी र सेनाका ट्रकहरू इन्डिपेन्डेन्ट स्क्वायर नजिकै बसेर गैरकानुनी रूपमा भेला नहुन चेतावनी दिइरहेका छन् । तर प्रदर्शनकारीले त्यो चेतावनी नसुनेको जस्तो गरेर प्रदर्शन गरिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment