Comments Add Comment

सरकारले कोरोना नियन्त्रणको योजना सार्वजनिक गरोस् : कांग्रेस

१० भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रणको अल्पकालीन र दिर्घकालीन योजना सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सरकारले निषेधाज्ञा जारी गरेको तर त्यसपछि के भन्ने प्रष्ट नपारेको उसको आरोप छ ।

कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भनेका छन्, ‘सरकारसँग के योजना छ सार्वजनिक गरोस् । संक्रमण यो भन्दा बढ्न पनि दिँदैनौं र सधै बन्द हुने अवस्था पनि हुन दिँदैनौं भनेर जनतालाई आश्वस्त पारोस् ।’

चार महिना लामो लकडाउनका कारण आर्थिक र सामाजिक जनजीवन कष्टकर बनेको भन्दै कांग्रेसले फेरि लामो समय निषेधाज्ञा गर्न नहुने बताएको छ । सबै अस्पतालमा २० प्रतिशत बेड छुट्याउनुपर्ने निर्णय व्यवहारिक नभएको भन्दै उनले आवश्यक अस्पताललाई कोभिड अस्पताल तोक्न सुझाव दिए ।

कांग्रेसले पहिचान गरेका सरकारले तत्काल गर्नुपर्ने काम यस्तो छ : 

(१) अहिलेसम्म सरकार दिशाविहिन र योजनाविहिन छ । यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरियोस् ।

(२) कोरोना संक्रमण फैलदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गरियोस् ।

(३) अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गरियोस् ।

(४) स्वास्थ्यकर्मीहरुलाई विमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस् ।

(५) चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हुने गरेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस् । साथै संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस् ।

(६) संक्रमणको सर्भिलेन्स र टे«सिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पिसिआर परिक्षणलाई व्यापक बनाइयोस् ।

(७) उपचारको क्रममा उपयोगी औषधीहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस्् ।

(८) स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस् ।

(९) विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस् ।

(१०) हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाइयोस् ।

(११) देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस् ।

(१२) कोरोना संक्रमण भएकाहरुलाई लक्षणको स्वरुप हेरी आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरुले निर्णय गर्ने व्यवस्था गरियोस् ।

(१३) शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परिक्षा वैकल्पिक विधि अपनाएर भए पनि संचालन गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment