Comments Add Comment

विदेशमा घरेलु कामदार : श्रम शोषणदेखि अनिच्छुक गर्भसम्म

११ भदौ, काठमाडौं । घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीको अवस्था दयनीय रहेको सरोकारवालाले बताएका छन् ।

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले बिहीबार विदेशमा रहेका नेपाली महिला कामदारको अवस्थाको बारेमा विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि र सम्बद्ध मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको प्रयोग (भर्चुअल) बाट छलफल गरेको थियो । छलफलमा राजदूतहरुले अवैधानिक रुपमा आएका घरेलु कामदार श्रम शोषणदेखि यौन शोषणसम्म भोग्नुपरेको बताएका छन् ।

कतारका लागि नेपाली राजदूत नारद भारद्धाजका अनुसार कतारमा सबैभन्दा बढी समस्यामा नेपाली महिला घरेलु कामदार छन् । जो १८ घण्टासम्म काम गर्नुपर्ने वाध्यतामा छन् । कतिपय यौन शोषणमा पनि परेका छन् ।

‘पछिल्लो समयमा ३६८ जना नेपाली कामदारहरुको उद्धार गरेका थियौं । जसमा अनिच्छुक गर्भ लिएर घर फर्किनेहरु समेत परेका छन्’ उनले भने ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार त्यहाँ पनि घरेलु कामदारको अवस्था दयनीय नै छ । धेरै घरेलु कामदारको अवस्था दूतावासले नै थाहा पाउन नसकेको उनको भनाइ छ ।

युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले भारत हुँदै आएका घरेलु कामदारले धेरै दुख पाइरहेका बताए । ‘घरेलु महिला कामदारले १८ घण्टासम्म काम गर्नुपरेको, कुटपिट, विभिन्न खालका शोषण, यौन शोषण हुने गरेको, पासपोर्ट मालिकहरुले राख्ने गरेका समस्याहरु दूतावासमा आएका छन्’ ढकालले भने ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियामा ८ हजार ७३६ जना नेपाली महिला वैधानिक कामदार रहेको बताए । अवैधानिक महिला कामदारको संख्या उत्तिकै रहेको उनले सुनाए ।

अब सरकारले मलेसियामा रहेका अवैधानिक कामदारलाई उद्धार गरेर नेपाल फर्काउनुपर्ने र अवैधानिक रुपमा विदेश जाने प्रवृत्ति रोक्न ठोस कदम चाल्नुपर्ने उनको सुझाव छ ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत रामसिंह थापाले विवाह गरेर कोरिया आउनेहरु समस्यामा परेको बताए । ‘विवाह गरेको भनेर सम्पूर्ण कागजात बनाएर आउँछन् । विवाहका नाममा मानव तस्करी हुन सक्ने खतरा छ’ उनले भने ।

खाडी मुलुकमा घरेलु कामदारका रुपमा जानेहरु साधारण लेखपढ नभएका, सामान्य अंग्रेजी भाषा बोल्न पनि नसक्ने र स्मार्ट मोबाइल चलाउन नजान्नेहरु छन् ।

उनीहरुले आफूलाई पर्ने समस्या र समस्या परेमा सम्पर्क गर्ने स्थानबारे पनि जानकारी पाएका हुँदैनन् । ‘केही न केही अंग्रेजी जान्ने भएको हुँदा समस्या हुँदैनथ्यो तर सामान्य भाषा र हिसाब पनि जान्दैनन् के भन्नु !’ बहराइनका लागि नेपाली राजदुत पदम सुन्दासले भने ।

राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा नेपाली महिलाहरु २३ हजार भन्दा बढी छन् । तीमध्ये अवैधानिक रुपमा गएकाहरु बढी छन् । ‘समस्या दुबैतर्फबाट हुँदो रहेछ, कामदार लगिदिने र काम लगाउने मालिक’ भण्डारी भन्छन्, ‘जे जे भए पनि आइहाले । हाम्रा आन्तरिक समस्याहरु पनि होलान । अब उनीहरु सबैलाई फिर्ता गर्नुको विकल्प छैन ।’

ओमानका राजदूत शर्मिला पराजुलीका अनुसार ओमानमा ५०० जति महिला अवैधानिक रुपमा पुगेका छन् र काम गरिरहेका छन् । अहिले उनीहरु नै बढी समस्यामा परेका छन् ।

महिला मन्त्रालयकी सचिव यम कुमारी खतिवडाले सरकारले अनुमति नदिएको मुलुकमा पुगेका महिला बेचविखनमा परेको हुन सक्ने बताइन् । महिला समिति सदस्य अमिृता थापाले नेपालले आत्मनिर्भर भएर मात्रै याी समस्याहरुको समाधान गर्न सक्ने बताइन् ।

समितिका अर्का सदस्य नारायणप्रसाद खतिवडाले पनि अवैधानिक रुपमा विदेश गएका नेपाली बढी समस्यामा परेको देखिएको भन्दै तिनीहरुलाई तत्काल उद्धार गर्न आग्रह गरे ।

‘अवैधानिक भए पनि उद्धार गर्नू’

बैठकपछि महिला तथा सामाजिक समितिले अवैधानिक रुपमा विदेशमा कार्यरत नेपालीको समस्या यथाशीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

अवैधानिक गएका र अहिले अप्ठेरोमा परेकाहरुलाई उद्धार गर्न समितिले निर्देशन दिएको छ । समिति सभापति निरुदेवी पालले अनलाइनखबरसँग भनिन्, ‘अवैधानिक रुपमा गएको भए पनि तिनको उद्धार गर्न र अब अवैधानिक रुपमा जानेलाई शून्यमा झार्न समितिले सरकारलाई भनेको छ ।’

खाडी मुलुकमा अवैधानिक रुपमा गएका महिला कामदारको वास्तविक विवरण पनि नरहेको भन्दै समतिले.घरेलु महिला कामदारको रुपमा विदेश गएकाहरुको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिएको छ ।

उद्धार गरिएका महिलाहरु गर्भवतीसमेत रहेकाले उनीहरुको मर्यादित र सुरक्षित व्यवस्थापन गर्नका लागि शीघ्र कार्यनीति बनाई कार्य सम्पादन गर्न समितिले भनेको छ ।

यो पनि पढ्नुहोस राजदूतहरुले सरकारलाई भने : श्रम स्वीकृति नलिएकालाई पनि उद्धार गर्नुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment