Comments Add Comment

कोरोना नियन्त्रणमा प्रदेशले दिएको रकम खर्च भएन : मुख्यमन्त्री राउत

११ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि दिएको बजेट जिल्ला प्रशासन कार्यालय र अस्पतालले खर्च गर्न नसकेको बताएका छन् ।

कोरोना महामारी नियन्त्रण सम्बन्धमा सर्लाही र रौतहटका सरोकारवालासँग सृुझाव लिन सर्लाहीको हरिवनमा बिहीबार आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले दिएको रकम खर्च नहुनु दुर्भाग्यपूर्ण भएको बताए ।

प्रदेश सरकारले पटक पटक जिल्लामा रकम र स्वास्थ्य उपकरण तथा सामग्री पठाए पनि जिल्लास्थित जिम्मेवार व्यक्तिहरुले सदुपयोग गर्न नसकेको राउतले बताए ।

मुख्यमन्त्री राउतले बाराको कलैया अस्पतालमा पठाइएको ५ करोड, रौतहटको गौर अस्पतालमा पठाइएको अढाई करोड रकम खर्च हुन नसकी फिर्ता भएको जानकारी गराए । उनले भने, ‘यो रकमले ती अस्पतालहरुमा आईसीयू, सीसीयू लगायत उपकरण तयार गर्न सकिन्थ्यो ।’

हालै जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न उनले निर्देशन समेत दिए ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको यस संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको दोहोर्‍याए । ‘जनताको ज्यानको रक्षाबाहेक अन्य कुरा सोच्ने बेला अहिले छँदैछैन’ उनले भने ।

उनले क्षमताले भ्याएसम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने पनि बताए ।

मुख्यमन्त्री राउतले आठवटै जिल्लामा पीसीआर ल्याब सञ्चालनका लागि प्रक्रिया शुरु भइसकेको उल्लेख गर्दै रौतहटमा जडान भइसकेको र बाँकी जिल्लामा १५ दिनभित्र प्रयोगशाला तयार हुने बताए ।

कार्यक्रममा समाजिक विकास मन्त्री नवलकिशोर साहले स्वास्थ्य सामग्रीको कुनै अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment